काठमाडौँ । अर्थ मन्त्रालयका सचिव तोयम रायले सरकारले अब लामो समय समाजिक सुरक्षा भत्ता बाँड्न नसक्ने बताएका छन् । आर्थिक पत्रकार संघसँग शुक्रबार भएको भेटमा अर्थसचिव रायले बर्सेनि साधरण खर्च बढ्दै गएको र लामो समय सामाजिक सुरक्षा भत्तामा जाने खर्च धान्न नसक्ने टिप्पणी गरे ।
रोजगारीमा आवद्ध भएका हरेक नागरिक अनिवार्य समाजिक सुरक्षा कोषमा आवद्ध हुन जरुरी रहेको उनको भनाइ छ । सरकारले वार्षिक रुपमा करिब एक सय अर्ब रकम समाजिक सुरक्षा भत्तामा मात्रै खर्च गर्नेे गरेकाले राज्यकोषबाट यसरी सामाजिक सुरक्षा भत्ता बाँड्ने विद्यमान परिपाटी हटाउन आवश्यक रहेको उनले बताए । ‘अहिले पनि सरकारले एक सय अर्ब भन्दा बढी रकम सामाजिक सुरक्षा भत्तामा खर्च गरिरहेको छ । यसरी अर्बौं रुपैया कुनै योगदान बिना सामाजिक सुरक्षा भत्ता दिन सरकारलाई गाह्रो हुन्छ’ उनले भने ‘सरकारले लामो समयसम्म कुनैपनि योगदान बिना सामाजिक सुरक्षा भत्ता जारी राख्ने अवस्थामा छैन ।’
सचिव रायले वर्तमान अवस्थामा देशमा राजस्व संकलनको अवस्था जटिल रहेको भन्दै राजस्व चुहावटको विषयमा सरकारले माफी दिन नसक्ने बताए । ‘राजश्व चुहावटमा सार्क राष्ट्रमध्ये नेपालले वार्षिक रुपमा १७ देखि १८ प्रतिशत वृद्धि १५ वर्षदेखि गरिरहेको छ । यो अन्य देशमा छैन । हामी चुहावट छैन भन्ने पक्षमा पनि छैनौं ।’ सरकारले चालु आर्थिक वर्षको यो अवधिमा मात्रै ३९ अर्ब रुपैयाँ मलमा खर्च गरेको बताउँदै उनले मल अभाव हुन नदिनको लागि सरकारले ७६ प्रतिशतसम्म अनुदान दिएको टिप्पणी गरे । आगामी वर्ष मलको वर्तमान मूल्य नै कायम रहृयो भने करिव ४५ अर्ब रुपैयाँ लाग्ने अनुमान रहेको उनले बताए । साभार : कान्तिपुर



