वीरगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले चालु आर्थिक वर्षको आठ महिना अवधिमा एक करोड ८९ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ ।
ट्राफिक नियमको उल्लंघन गर्ने २१ हजार दुई सय सवारीसाधनमाथि कारबाही गरी एक करोड ८९ लाख १२ हजार पाँच सय रुपैयाँ राजस्व संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक मणिराम थापाले जानकारी दिए ।
यस्तै, चालु आव २०७९/८० को आठ महिनामा पर्सा जिल्लामा भएको २८१ वटा सवारी दुर्घटनामा परी ३३ जनाको मृत्यु भएको छ । पर्साको मुख्य सडक तथा विभिन्न सहायक सडकमा भएको सवारी दुर्घटनामा २७ पुरुष, तीन महिला, तीन बालक गरी ३३ जनाको मृत्यु भएको प्रहरी निरीक्षक थापाले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।
बढ्दो सवारी साधनको चाप, साँघुरो सडक, चालकको लापरवाही तथा सडकमा छाडिने पशुचौपायाका कारण सवारी दुर्घटना बढेको उनको भनाइ छ ।