वीरगञ्ज,०३ चैत । बालबालिकाको मानसिक स्वास्थ्य ठिक राख्न घर परिवार र अभिभावककै महत्वपूर्ण भूमिका रहेको सरोकारवालाहरुले बताएका छन् ।
अहिले किशोरावस्था तथा बालबालिकाकै मानसिक स्वास्थ्यमा गम्भीर खालका समस्या देखिँदै गएकाले यसमा अभिभावक र घरपरिवार नै सजग र सचेत भएर व्यवहार गर्नु पर्नेमा सरोकारवालाहरुको जोड थियो ।
वीरगञ्ज महानगरपालिकाको सहयोगमा टिपिओ नेपालले शुक्रबार वीरगञ्जमा आयोजना गरेको जनप्रतिनिधि तथा सरोकारवालाहरुसँग मनोसामाजिक विषयको कार्यशाला गोष्ठिमा सहभागिहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले मनोसामाजिक परामर्श र उपचारका लागि वीरगञ्ज महानगरका स्वास्थ्य संस्थाहरुमा कार्यक्रम संचालन गरिएको जानकारी दिनुभयो ।
उहाँले शारिरिक रोगको उपचार र पहिचान सहज भए पनि मानसिक समस्याको पहिचान गर्न कठिनाई हुने भएको पहिचान र उपचारमा समस्या आउने गरेको पनि बताउनुभयो ।
बालबालिका मात्रै नभई तनाब र दवाबसँग जुध्ने प्रौढ, युवा तथा बृद्ध पनि मनोरोगको चपेटामा आउने गरेको भन्दै समयमै तनाब र दवाब व्यवस्थापन गर्न घरपरिवारले पनि साथ दिनु पर्ने बताउनुभयो ।
कार्यक्रममा शिक्षिका सपना श्रेष्ठले मनमा लागेको चोटको उपचार गर्ने अस्पताल र विज्ञ परामर्शदाताको अभावले मनोरोग झनै जटिल बन्दै गएको बताउनुभयो ।
मनोरोगकै कारण यौन हिंसा, यौन दुव्र्यवहार तथा आत्महत्याका घटना पनि बढीरहेको उहाँको भनाइ थियो ।
बच्चैबाट अभिभावकले सही व्यवहार र सही मार्गनिर्देश गरे मात्रै मनोसामाजिक समस्या निराकरण भएर यस्ता घटनाहरु कमी आउने उहाँले विश्वास लिनुभयो ।
कार्यक्रममा टिपिओ नेपालका कार्यक्रम प्रमुख पितम्बर कोइरालाले मनोसामाजिक परामर्शका बारेमा प्रस्तुतिकरण गरेका थिए ।
कार्यक्रममा विभिन्न वडाका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।