वीरगञ्ज,१८ फागुन । अपहरण तथा शरीर बन्धक एवं जवरजस्ती चोरी मुद्धामा सजाय पाएर ३ वर्ष देखि फरार रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरी जेल चलान गराएको छ ।
पर्सा जिल्ला अदालतले २०७६/३/१० मा र उच्च अदालतले सोही महिनाको १९ गते वीरगञ्ज ११ का नागेन्द्र प्रसाद महतोलाई दोषि ठहर गर्दै १७ लाख ८३ हजार २४३ रुपैयाँ जरिबाना हुने फैसला दिएको थियो ।
अदालतको फैसलापछि फरार रहँदै आएका महतोलाई वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरीक्षक डिल्लिराज सापकोटाको नेतृत्वमा सोमबार पक्राउ गरी जिल्ला अदालत पर्सामा बुझाएको थियो ।
अदालतमा महतोले पूर्व निर्धारित फैसला बमोजिम जरिबाना रकम बुझाउन नसकेपछि अदालतले १० वर्ष कैदमा राखी जरिबाना असुल उपर गर्न कारागार पठाएको हो ।
२०७६ मै फैसला भए पनि अहिले बल्ल कारागार पठाएकाले यही फागुन १५ गतेदेखि लागु हुने गरी १० वर्ष कैद भुक्तान गर्नु पर्ने अदालतले आदेश दिएको हो । महतो पार्वती आयल स्टोरका संचालक समेत हुन् ।
वडा प्रहरी कार्यालय श्रीपुरले अदालतबाट फैसला भएका मुद्धाका फरार प्रतिबादीहरुलाई पक्राउ गर्ने अभियान नै चलाएको छ ।