वीरगञ्ज । ओम शिवशक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ ओै वार्षिक साधारण सभा सम्पन्न भएको छ । वीरगञ्जको बसपार्कस्थित होटल सोल्टी गार्डेनमा सहकारीका सञ्चालक समिति अध्यक्ष कलिष्टर साह कानुको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो ।
साधारण सभालाई सम्बोधन गर्दै जिल्ला बचत तथा ऋण सहकारी संघ पर्साका अध्यक्ष राजेश पण्डितले ओम शिवशक्ति सहकारी संस्था पर्सा जिल्लाका ठूला संस्थाहरूको नामभित्र आउने गरेको बताए । १५ वर्षको यात्रामा ओमशिवशक्ति सहकारीले गरेको प्रगतीको श्रेय शेयर सदस्यहरूलाई जाने उनको भनाई छ । संस्थाका समग्र आर्थिक पक्ष, सामाजिक पक्ष एवम् सांस्कृतिक पक्षलाई बलियो बनाउन शेयर सदस्यहरुको महत्वपूर्ण भूमिका रहेको उनले बताए । संस्थाले आफ्नो शेयर सदस्यलाई नै ऋण दिने र शेयर सदस्यले त्यसबाट व्यवसाय गरी आम्दानी गरेर सावा ब्याज तिर्ने अवस्थाको सृजना गरीरहेको उनको भनाई छ ।
केही संस्थाहरूमा समस्या देखिएको बताउँदै उनले ऋणी सदस्यहरूले समयमै लिएको ऋण तिरेमा कुनै समस्या नआउने विश्वास दिलाए । सहकारी ऐनको दफा ७९ र सहकारी नियमावलीको परिच्छेद ३० र ८ मा ऋण लिँदा राखिएको धितो समयअवधि सकिएपछि लिलाम गर्ने स्पष्ट उल्लेख गरिएपनि लिलाम गर्ने अवस्थामा सम्म पुग्न नदिन उनले शेयर सदस्यहरुलाई सुझाव दिएका छन् । यस्तै ओम शिवशक्ति सहकारीले २२ जना कर्मचारीलाई प्रत्यक्ष रोजगारी दिएको जानकारी गराए ।
ओमशिवशक्ति सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत अरुण कुमार साहले संस्थाको आर्थिक तथा वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कोरोना भाइरसको महामारीसँगै, पछिल्लो समय देखिएको आर्थिक मन्दीका बीचमा पनि संस्थाले सन्तोषजनक कारोवार गरेको उनले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ । संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्दै कोरोनाको समयमा शेयर सदस्यहरुलाई राहत वितरणदेखि भूकम्प, हावाहुरी जस्ता आपतविपतमा पनि सक्रियता देखाउँदै आएको उनले बताए । आफ्नै भवन खरिद गरेर संस्थाले कारोवार गर्दै आएको पनि उनले सुनाए ।
कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ पर्साका महासचिव जिष्णु बराल, संघका व्यवस्थापक अनुप यादव, नरेश चौरसिया, कोहिनुर साकोसका प्रबन्धक प्रदीप साह, भगवति साकोसका रामनिवास देहाती लगायतको उपस्थिती रहेको थियो ।
प्रिति साहले स्वागत मन्तव्य व्यक्त गरेको साधारण सभाको उद्घाटन सत्रको सहजीकरण सञ्चारकर्मी उज्जवल शर्माले गरेका थिए ।



