वीरगञ्ज । वीरगञ्ज युवा समाजको आयोजना सम्पन्न नि:शुल्क आँखा जाँच शिविरबाट २ सय १४ जना लाभान्वित भएका छन् ।
समाजले बिहीबार पर्साको दोस्रो सदरमुकाम रूपमा परिचित पोखरिया नगरपालिका – ३ स्थित वसन्तपुरमा किरण आँखा अस्पतालको प्राविधिक सहयोग तथा पोखरिया वडा नम्बर ३ को कार्यालयको विविध सहयोगमा सञ्चालन गरेको शिविरबाट २ सय १४ जना लाभान्वित भएका हुन् ।
बसन्तपुरस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय वसन्तपुरको प्राङ्गणमा शिविरमा आँखा परीक्षण गरिएका २ सय १४ जनामध्ये ७२ जनामा मोतीबिन्दुको समस्या देखिएको समाजका अध्यक्ष सञ्जीव थापाले जानकारी दिए ।
थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा पोखरिया नगरपालिका – ३ का वडाध्यक्ष राम प्रवेश चौहान प्रमुख अतिथि थिए भने विद्यालयका प्रधानाध्यापक हरि नारायण गिरी, किरण आँखा अस्पतालका फिल्ड मेनेजर चन्दन सहनी, वसन्तपुर स्वास्थ्य चौकीका इन्चार्ज अमरेन्द्र साह तथा कार्यक्रम संयोजक अस्मिता गौतम लगायतको उपस्थिति रहेको थियो ।
शिविरमा वीरगञ्ज युवा समाजका सानु राणा, विनोद धिमाल, मणि हर्ष शाक्य, मौसमी सुनुवार, पूर्ण गुरुङ, विक्रान्त खनाल, सुबोध श्रीवास्तव, श्याम कुमार बर्णवालले सहयोग गरेका थिए भने कार्यक्रमको सहजीकरण समाजका सलहकार मार्टिन मोक्तानले गरेका थिए ।



