वीरगञ्ज । पर्सा प्रहरीले लागूऔषध खैर हेरोइन (ब्राउन सुगर) सहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको परवानीपुर गाउँपालिका – ४ निवासी ३५ वर्षीय ध्रुव राम रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार रामलाई वीरगञ्ज महानगरपालिका – १४ स्थित गण्डक चोकबाट परवानीपुर तर्फ गइरहेको अवस्थामा बिहीबार साँझ ७ बजेको करिबमा पक्राउ गरिएको हो ।
गण्डक हुँदै परवानीपुर तर्फ गइरहेको अवस्थामा राम सवार ना.२१ प ४५८६ नम्बरको मोटरसाइकललाई रोकेर त्यहाँ खटेको प्रहरीको टोलीले चेकजाँच गर्दा मोटरसाइकलको लुकिङ ग्लास भित्र लुकाएर राखेको ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) कुमार विक्रम थापाले बताए ।
डिएसपी थापाका अनुसार मोटरसाइकलको लुकिङ ग्लासबाट प्रहरीले ६ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर फेला पारेको छ ।
राम हाल प्रहरी नियन्त्रणमा छन् । उनीमाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान कार्य डिएसपी थापाले जानकारी दिए ।



