वीरगञ्ज । पर्सा प्रहरीले बिल बिजक भन्दा बढी खुद्रा तथा कस्मेटिक सामानहरू लोड रहेको ट्रक नियन्त्रणमा लिएको छ ।
वीरगञ्जबाट मोरङतर्फ जाँदै गरेको ना.३ ख ३९४९ नम्बरको मालवाहक ट्रकलाई प्रहरीले वीरगञ्ज महानगरपालिका – १४ गण्डकबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) कुमार विक्रम थापाले जानकारी दिए ।
गण्डकस्थित सडक खण्डमा मङ्गलवार साँझ पौने १० बजेको समयमा ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी माल बस्तुहरू लोड रहेको तथा विल बिजक शङ्कास्पद देखिएको हुँदा अन्दाजी मूल्य ५८ लाख १६ हजार ६ सय २८ रुपैयाँ बराबरको ट्रक र कस्मेटिक तथा खुद्रा सामानहरू नियन्त्रणमा लिइएको डिएसपी थापाले बताए ।
ट्रकलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि बुधवार राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको थापाले प्रेस विज्ञप्ति मार्फत जानकारी गराएका छन् ।



