वीरगञ्ज । वीरगञ्जको बिर्तास्थित बाल सुधार गृहमा विद्यमान दुरावस्था सुधार गर्न मानवअधिकारकर्मीहरूले स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका छन् ।
सुधार गृहमा खाना, पानी, शौचालय, औषधी उपचार लगायतमा उचित व्यवस्थापन नहुँदा त्यहाँ रहेका बालकैदीहरूले विभिन्न सास्ती खेप्न बाध्य भइरहेको भन्दै मानव अधिकारीकर्मीहरूले जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएका हुन् ।
स्वतन्त्र मानव अधिकार समाजको टोली बाल सुधार गृहमा अनुगमन गर्न पुग्दा त्यहाँ रहेका बालकैदीहरूका लागि उपलब्ध सुत्ने कोठाको अभाव भएको, एउटै कोठामा १४ जनासम्मलाई कोचेर राखिएको, उपलब्ध खाना र खाजा गुणस्तरहीन भएको, सुत्ने कोठामा पङ्खाको कमी भएको, औषधी उपचारमा पनि लापरबाही गरिएको, पुस्तकालय र खेलकुदका सामग्री उपलब्ध नगराइएको लगायतका समस्या देखिएको समाजका केन्द्रीय अध्यक्ष कृष्णकुमार खनालले बताए ।
बाल सुधार गृहका समस्या समाधानका लागि सोमबार जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर समाजको टोलीले सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्साललाई लिखित रूपमा ध्यानाकर्षण गराएको खनालले बताए ।
यसका साथै सुधार गृहमा नियमित विद्युतीय आपूर्तिका लागि जेनरेटरको व्यवस्था गर्न, खानेपानीको उचित प्रबन्ध मिलाउन, कोठाहरूमा पङ्खा थप्न, समय समयमा स्थानीय प्रशासनको तर्फबाट अनुगमन गर्न र त्यहाँ सुरक्षारत नौ जना प्रहरीका लागि छुट्टै मेस सञ्चालन गर्न पनि आग्रह गरिएको समाजका महासचिव दिपक साहले जानकारी गराए ।
साहका अनुसार सुधार गृहमा रहेका एक सय ३१ जना बालकैदीहरूलाई आठ वटा मात्र कोठामा राखिएको छ ।
सोमबार जिल्ला प्रशासन कार्यालयमा गएको टोलीमा समाजका अध्यक्ष खनाल र महासचिव साहसँगै उपाध्यक्ष नन्द किशोर यादव, केन्द्रीय सदस्यहरू सोनालाल गुप्ता, लालबाबु गुप्ता, निर्मला कुशवाहा, नन्दिनी गुप्तालगायतकोपनि सहभागिता रहेको थियो ।
वीरगञ्जको बाल सुधार गृहमा गत भदौ २६ गते त्यहाँ रहेका बालकैदीहरूबिच विवाद भई झडप हुँदा ११ जना बालकैदी र तिन जना प्रहरी घाइते भएका थिए । दुई समूहबिच भएको झडपका कारण गृहमा करोडौँको क्षति भएको त्यहाँको प्रशासनले जनाएको छ । सभार : मधेस खबर



