वीरगञ्ज । पर्साको पोखरिया नगरपालिका – ४ पोखरिया बजारस्थित जिल्ला उचाङ्गल रामदेव कलवार माध्यमिक विद्यालयका विद्यार्थीले विद्यमान विभिन्न समस्या समाधानको लागि मेयर प्रद्युम्न चौहानको ध्यानाकर्षण गराएका छन् ।
विद्यालयको कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीले सोमबार नगरपालिकाको कार्यालयमै पुगेर मेयर चौहानलाई भेटेर ११ बुँदे मागसहितको ध्यानाकर्षण पत्र पनि बुझाएका छन् ।
विद्यालयले आफूहरूसँग अनधिकृत भर्ना र मासिक शुल्क लिने गरिएको, शिक्षकहरू नियमित रूपमा नआउने गरेको, विद्यार्थीसँग शिक्षकले राम्रो व्यवहार नगरेको, विद्यालयमा व्यवस्थित शौचालय नभएको, शौचालयमा छात्राहरूका लागि सेनीटरी प्याडको व्यवस्था नभएको, छात्राहरूका निमित्त छुट्टै शौचालय नभएको लगायतका समस्या सहितको समस्या समेटेर विद्यार्थीले मेयर चौहानलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
मेयर चौहानलाई भेट्ने टोलीमा कक्षा ११ र १२ का विद्यार्थीहरू सागरकुमार, रोहितकुमार, विजयकुमार, अजय कुमार, हृदेश कुमार, आलोककुमार, मनोहर कुमार, नीरजकुमारलगायतको सहभागिता थियो । सभार : यात्रा डेली



