बर्दिया । बाघको आक्रमणबाट बर्दियाको मधुवन नगरपालिका‐३ की एक महिलाको मृत्यु भएको छ । घर नजिकैको सम्झना सामुदायिक वनमा घाँस काट्न गएको बेला बंशीमगर लाई बाघले आक्रमण गरेको थियो ।
दिउँसो करिब एक बजे घाँस काट्न जानु भएकी उहाँ अबेरसम्म नफर्किएपछि आफन्तहरुले खोजी कार्य शुरु गरेका थिए । खोज्ने क्रममा उहाँले लगाएको कपडा च्यातिएको अवस्थामा भेटिएपछि नजिकैको शशस्त्र प्रहरीको टोलीलाई खबर गरेर थप खोजी गरिएको आफन्तको भनाई छ । वंशीमगरको शव घटना स्थलबाट केही पर बाघले दायाँ हात खाएको अवस्था फेला परेको डिभिजन वन कार्यालय बर्दियाका सुचना अधिकारी द्रोणराज शर्माले बताउनु भयो । शब करिब साँझ फेला परेको थियो ।
मृतक कलीको शव पोष्टमार्टमका लागि बर्दिया अस्पतालमा लगिएको छ । विगत् देखि नै यस क्षेत्रमा बाघको आक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दो छ । गत चैत्र ६ गते दाउरा काट्न गएको समयमा खाता जैविक मार्गमा दुई जना महिलाको बाघको आक्रमणबाट मृत्यु भएको थियो । घटना भएको सामुदायिक वन खाता जैविक मार्गमा पर्दछ ।



