वीरगञ्ज । नेरेसो पर्सा जिल्ला शाखाद्वारा विभिन्न कार्यक्रम गरी नेपाल रेडक्रस सोसाइटी स्थापना दिवस मनाईएको छ ।
स्थापना दिवसको अवसर विहान शाखा कार्यालयमा झन्डोत्तोलन र माल्यार्पण कार्यक्रम गरिएको थियो । नेपाल रेडक्रस सोसाईटी पर्सा शाखाका सभापति बिरेन्द्रराज कँडेलको अध्यक्षता तथा नेरेसो मधेश प्रदेशका अध्यक्ष फूल महम्मद मियाँको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको पर्सा शाखाका मन्त्री शैलेन्द्र कुमार चौरसियाले जानकारी दिनु भयो । झन्डोत्तोलन पछि रेडक्रसका जन्मदाता जाँ हेनरी ड्युना र नेपाल रेडक्रसका संस्थापक अध्यक्ष प्रिन्सेप शाहको तस्बिरमा अबिर, फूलमाला चढाइ सम्पुर्ण रेडक्रसकर्मिमा शुभकामना आदानप्रदान गरिएको थियो । तत् पश्चात् वीरगन्जको घण्टाघरमा डेंगु रोग सम्बन्धि सचेतनामूलक पर्चा वितरण गरिएको थियो ।
कार्यक्रम संचालन मन्त्री शैलेन्द्र कुमार चौरसियाले गर्नु भएको थियो भने कार्यक्रममा रेडक्रस पर्साका उपसभापति श्रीमती मधु राणा, उपकोषाध्यक्ष दया शंकर सिंह, कार्यसमितिका सदस्य दिनानाथ रौनियार, कासी साह, शिवनाथ यादव, नि। प्रमुख विरशम्शेर कुर्मी लगायत उपशाखाका प्रतिनिधि तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।
रेडक्रस स्थापना दिवसको अवसरमा समता विद्यालयका बालबालिकालाई शैक्षिक सामाग्री विवरण, मानव सेवा आश्रममा खाजा वितरण तथा भिस्वा डाँडामा बृक्षारोपण गरिएको रेडक्रस पर्साका मन्त्री शैलेन्द्र कुमार चौरसियाले जानकारी दिनु भयो ।
यसै गरी माईस्थान उपशाखाले निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । सो शिविरका डा। निरज सिंह, डा। प्रमोद सर्राफ र डा। दिप्ति यादवले स्वास्थ्य परिक्षण गरेको माईस्थान उपशाखाका सभापति मदन गुप्ताले बताएका छन् ।
स्थापना दिवसकै उपलक्ष्यमा विरुवागुठी उपशाखाले रक्तदान कार्यक्रम गरेको छ । एक महिला सहित २५ जनाले रक्तदान गरेको उपशाखाका विरुवागुठीका कोषाध्यक्ष एवं कार्यक्रम संयोजक संजय परियारले जानकारी दिए ।



