वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघले पर्साका तत्कालिन सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाको स्मृतिमा २ लाख रुपैयाँको अक्षय कोष स्थापनाको घोषणा गरेको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालसँग संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको बुधबार वीरगन्जमा भएको छलफल कार्यक्रममा यस्तो घोषणा गरिएको हो ।
दुई साताअघि एसपी थपलियाको हृदयाघातबाट कारण निधन भएको थियो । छलफलमा संघका अध्यक्ष अनिलकुमार अग्रवालले थपलियाको स्मृतिमा अक्षय कोषको स्थापना गरिने र कोषको परिचालन पछि बन्ने निर्देशिका बमोजिम गरिने बताए । उनले थपलिया एक असल, इमान्दार र कर्तव्यनिष्ठ प्रहरी अधिकृतका रुपमा पर्सामा छोटो समयमैं आफ्नो पहिचान बनाउन सफल भएको बताए ।
अग्रवालले सीमावर्ती क्षेत्रमा खटिएका सशस्त्र प्रहरीहरुलाई अभिमुखीकरण कार्यक्रमको आयोजना गरी बिलबिजक, प्रज्ञापन पत्र लगायतका आधारभूत विषयहरुका बारेमा जानकारी गराउन आग्रह गरे । साथै औद्योगिक सुरक्षा बलको पुनःस्थापना गर्न तथा स्थलगत रुपमा वीरगन्ज नाका हुँदै नेपाल आउने भारतीय पर्यटकहरुलाई सहजीकरण गर्न, पर्यटकका लागि आधिकारिक मुद्रा सटही काउन्टरको व्यवस्था गर्न र डिजिटल सेक्युरिटीको व्यवस्था गर्न समेत सशस्त्रका महानिरीक्षक अर्याललाई अग्रवालले आग्रह गरे ।
महानिरीक्षक अर्यालले संघबाट प्राप्त सुझावलाई आफूले गम्भीरतापूर्वक लिएको बताउदै वीरगन्ज आर्थिक र व्यापारिक नगरी भएकाले यसको गम्भीरतालाई मध्यनजर गर्दै सोही अनुरुपको सुरक्षा व्यवस्था मिलाउन सशस्त्र प्रहरी संगठन प्रतिबद्ध रहेको बताए । सीमावर्ती क्षेत्रमा खटिएका सशस्त्र प्रहरीहरुलाई बिलबिजक, प्रज्ञापनपत्र लगायतका आधारभूत विषयहरुका बारेमा जानकारी गराउनका लागि सीमावर्ती क्षेत्रका उद्योग वाणिज्य संघहरुको सहकार्यमा सचेतनामूलक कार्यक्रमको आयोजना गरिने बताए । सभार : कान्तिपुर




