वीरगञ्ज । लगातारको वर्षापछि आएको बाढी र पहिरोले सिन्धुपाल्चोकको बिभिन्न स्थानमा भौतिक क्षति भएको छ भने एक बिद्यालय सहित ४ घरबाढीको उच्च जोखिममा परेको छ ।
बाढीका कारण मेलम्ची(हेलम्बु सडक र अरनिको राजमार्गमा यातायात अवरुद्ध भएको छ । भोटेकोशी गाउँपालिकाको १० किलो भन्ने स्थान र बाह्रबिसे नगरपालिका(५ सिरिसेमा पहिरो खसेको छ । यस्तै मेलम्ची खानेपानी आयोजनाको प्रवेशमार्गको रुपमा रहेको मेलम्ची हेलम्बु सडकखण्ड अझै सुचारु हुन सकेको छैन । नदीले सडक कटान गर्दा मानिसहरु आवतजावत गर्न समेत समस्या भएको छ । सडक संजाल टुटेसंगै यस भेगका हजारौ स्थानीय प्रभावित बनेका छन् । बाढीले बिद्युतका पोलहरु बगाउँदा गए रातिदेखिनै हेलम्बु क्षेत्र अन्धकारमा छ ।
स्थानीय पालिकाहरुको पहलमा सडक खुलाउने प्रयास भए पनि पानी परिरहेकाले सम्भव नभएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्यालजेन शेर्पाले बताउनुभयो ।
हेलम्बु गाउँपालिका ४ ग्याल्थुमस्थित सिन्धुपाल्चोककै पुरानो ऐतिहासिक सरस्वती माध्यमिक विद्यालयको शौचालय बाढीले बगाएको छ । विद्यालय भवन र वरपरका ४ घरहरु समेत बाढीको उच्च जोखिममा परेको शेर्पाको भनाई छ ।



