भारतको चन्द्रयान- ३ चन्द्रमाको कक्षमा सफलतापूर्वक अवतरण भएको छ । बुधबार साँझ सवा ६ बजे चन्द्रमाको दक्षिणीध्रुवमा चन्द्रयान– ३ सफलतापूर्वक अवतरण भएको हो ।
चन्द्रयान– ३ ले दक्षिणी ध्रुवको रासायनिक र प्राकृतिक अवस्थाबारे अध्ययन गर्नेछ । चन्द्रमाको दक्षिणी ध्रुवको अनुसन्धानका लागि इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो)ले गत २९ असारमा चन्द्रयान–३ प्रक्षेपण गरेको थियो ।
सफल अवतरणसँगै भारत दक्षिणी ध्रुवमा यान अवतरण गराउने विश्वको पहिलो मुलुक बनेको छ । चन्द्रमाको सतहमा यसअघि अमेरिका, रुस र चीनले मात्र सफलतापूर्वक यान अवतरण गराएका छन् । दक्षिणी ध्रुवमा भने अहिलेसम्म कुनै मुलुक पुगेका छैनन् ।
दक्षिणी ध्रुवमा रुसले पठाएको यान तीन दिनअघि मात्र सतहमा अवतरणपूर्व विस्फाेट भएको थियो । त्यसैले संसारभरको आँखा मंगलबार साँझ भारततर्फ मोडिएको थियो । भारतले सफलतापूर्वक यान अवतरण गराएर चन्द्रमाको खोजमा नयाँ आयाम थप्ने विश्वास संसारलाई दिलाएको छ ।
भारतले दोस्रो प्रयासमा चन्द्रयानको सफल अवतरण गराएको हो । चार वर्षअघि ‘चन्द्रयान–२’ चन्द्रमामा अवतरण गर्ने क्रममा दुर्घटना भएको थियो । त्यसपछि थप परिष्कृत गर्दै इसरोले चन्द्रयान– ३ बनाएको हो ।