विरगञ्ज, १९ साउन । नेशनल मेडिकल कलेजले बालबालिकाहरुको मानसिक तथा शारिरीक विकासका लागि अपरिहार्य खेल सामग्रीहरुको प्रदर्शनी गरेको छ । कलेजको पिसिएल नर्सिङ तेश्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुले बिहीबार कलेजको अस्पताल परिसरमा बालबालिकाहरुको खेल सामग्रीहरु प्रदर्शन गरेका हुन् ।
बालबालिकाहरुको शारिरीक तथा मानसिक विकासका लागि स्वस्थ आहारविहारसँगै सोही प्रकारको शारीरिक र मानसिक वृत्तिविकास गराउन कस्ता खेल र खेल सामग्रीहरुको पनि आवश्यक पर्दछ भन्ने जानकारी गराउने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको कलेजकी नर्सिङ क्याम्पसकी भाइसप्रिन्सिपल बबिता सिंहले जानकारी दिइन् ।
जन्मेदेखि १५ महिनासम्मका बालबालिकाहरुलाई उमेर समुह अनुसार चाहिने खेल सामग्रीहरु प्रदर्शनी गरिएको थियो । सो क्रममा अस्पतालमा उपचारार्थ आएका बालबालिका, अभिभावक र बिरामीहरुले समेत प्रदर्शनीको अवलोकन गरेका थिए ।