वीरगञ्ज । पर्सामा हालसम्म २ हजार ५ सय ८१ जन्मसिद्ध नागरिकका सन्तानले वंशजको आधारमा नागरिकता पाएका छन् ।
नेपाल नागरिकता ऐन (पहिलो संशोधन) ऐन लागू भएसँगै एक महिनाकै अवधिमा पर्सा जिल्लामा ६ सय १४ जना महिलासहित कूल २ हजार ५ सय ८१ जना जन्मसिद्ध नागरिकका सन्तानले वंशज नागरिकता पाएका हुन् ।
पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलका अनुसार नयाँ नागरिक ऐन लागू भएको एक महिनाको अवधिमा कूल ७ हजार ७ सय ८२ जनाले आवेदन दिएकोमा २ हजार ५ सय ८१ जनाले नागरिकता पाएका छन् । जिल्ला प्रशासन कार्यालय पर्साले दैनिक १ सय जनाको दरले नागरिकता वितरण गर्दै आएको छ ।
नागरिकता वितरणलाई सहज बनाउन अनलाइन टोकन प्रणाली पनि लागू गरिएको सूचना अधिकारीसमेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । उनले भने, ‘सेवाग्राहीको बढ्दो चापलाई मध्यनजर गरी नयाँ नागरिकता ऐन लागू भएदेखि नै अनलाइन टोकन प्रणाली लागू गरेर नागरिकता वितरण गर्दै आएका छौँ । सेवाग्राहीहरूलाई कार्यालयमै आएर लाइन लागि पालो कुर्नुपर्ने झन्झट नहोस् भन्नका लागि अनलाइन टोकन प्रणालीबाट सेवा दिइरहेका छौँ ।’ अनलाइन प्रणालीबाट टोकन लिएपछि त्यहाँ निर्धारित मितिमा जिल्ला प्रशासन कार्यालयमा गएर सम्पर्क गर्नुपर्ने हुन्छ ।
नागरिकता वितरण फाँटका अधिकृत विनय श्रीवास्तवका अनुसार जिल्लामा २०६३ सालमा खटेको नागरिकता टोलीबाट जन्मका आधारमा करिब १५ हजार ३०० सयभन्दा बढीले नागरिकता लिएका थिए । अहिले उनीहरूको १७ देखि १८ हजार सन्तानले नागरिकता लिने उनको अनुमान छ ।
श्रीवास्तवले यस अवधिमा फर्जी विवरण पेस गरेर नागरिकता दिलाउन खोज्ने दुई जना पक्राउ पनि परेको जानकारी दिए । २०६३ सालमा फर्जी कागजात पेस गरेर जन्मको आधारमा नेपाली नागरिकता लिएर छोरा समेतको वंशज नागरिकता बनाउन खोजेका वीरगञ्ज – १३ मा बस्दै आएका दिनेश पटवा र उनकी श्रीमती रितादेवी पटवालाई गत असार २४ गते नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाइएको उनले बताए ।
अनागरिकहरूको लामो समयको सङ्घर्ष र पैरवीका कारण राष्ट्रपति रामचन्द्र पौडेलले संसद्बाट पास भएको नागरिकता सम्बन्धी विधेयकलाई प्रमाणीकरण गरेका थिए । ऐन राजपत्रमा प्रकाशित भए पनि गत जेठ १६ गते त्यस विरुद्ध सर्वोच्च अदालतमा रिट परे पछि सर्वोच्चले जारी गरेको अन्तरिम आदेशका लागि नागरिकता वितरण सुरु नहुँदै रोकिएको थियो । यद्यपि असार ७ गते भएको सुनुवाइमा अदालतले अन्तरिम आदेश खारेज गर्दै नागरिकता वितरण गर्ने बाटो खुल्ला गरेको थियो ।