वीरगञ्ज । नेपालका आदिकवी भानुभक्त आचार्यको जन्मजयन्तिको अवसरमा उहाँको मूर्ति अनावरण गरिएको छ ।
वीरगञ्जको बसपार्क स्थित भानुचौकमा स्थापना गरिएको भानुभक्त आचार्यको मूर्तिको शुक्रबार लक्ष्मी प्रसाद देवकोटा पुरस्कारबाट सम्मानित साहित्यकार भवानी क्षेत्रीले अनावरण गर्नुभएको हो ।
वीरगञ्ज महानगरपालिकाले स्थापना गरेको मूर्तिको भानु जयन्तिको अवसर पारेर नै अनावरण गरिएको हो ।
भानुभक्त आचार्यले हिन्दु धर्मको संस्कृतिमा लेखिएको रामायणलाई नेपालीमा अनुवाद गरेर सरलीकृत गरी धर्म संस्कृतिको प्रचारमा महत्वपूर्ण योगदान गर्नुभएको छ ।
भानुभक्त नेपाली वाङ्मयकै विराट पुरुष हुन् । नयाँ ढङ्गबाट उनका बारे व्याख्या र विश्लेषण भइरहेको छ ।
बहुभाषाभाषी हाम्रो मुलुकका जनतामा परस्पर सम्बन्ध सूत्र जोड्न आधार निर्माण गर्ने आधार व्यक्ति भानुभक्तको योगदान आजको सङ्घीय गणतन्त्रात्मक लोकतन्त्र नेपालमा उत्तिकै सान्दर्भिक छ ।
भानुभक्तका योगदानको स्मरणसागै सम्मान गर्ने परम्परा अगाडि बढाउदा मात्र अन्य भाषाका आदिपुरुषहरूको पनि स्मृति र सम्मान गर्ने परम्परा विकसित हुदै जानेछ ।
भानु जयन्तिकै अवसरमा शुक्रबार वीरगन्जमा नारायणी वांग्मय प्रतिष्ठान र लक्ष्मी साहित्य समाजले कविता वाचन प्रतियोगिता र पुरस्कार वितरण कार्यक्रमको पनि आयोजना गरेको छ ।
बसपार्कमा भानुको मूर्ति अनावरण र माल्र्यापण गरेपछि प्रभातफेरी सहित होटल मकालुमा पुगेर औपचारिक कार्यक्रम भएको छ । कार्यक्रममा वीरगन्ज महानगर प्रमुख राजेशमान सिंह लगायत विभिन्न साहित्यप्रेमी, साहित्य अनुरागीहरुको उपस्थिति रहेको छ ।