जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले अगामी आर्थिक वर्ष २०८०/०८१ का लागि २ अर्ब २८ करोड २३ लाख ६८ हजार २९० रुपैयाँको अनुमानित बजेट ल्याएको छ ।
उपमहानगरपालिकाले शुक्रबार आयोजना गरेको १०औँ नगर अधिवेशनमा नगर उपप्रमुख किशोरी साहले आर्थिक वर्ष २०८०/०८१ का लागि २ अर्ब २८ करोड २३ लाख ६८ हजार २९० रुपैयाँको अनुमानित आयव्ययको प्रस्तुत गरेका हुन् ।
‘सफा, स्वच्छ, सुन्दर र सु–संस्कृत जनकपुरधाम उपमहानगर’ बनाउने नारासहित उपप्रमुख साहले विनियोजित खर्चमध्ये चालु खर्च १ अर्ब १३ करोड ६२ लाख, पुँजीगत खर्च ५६ करोड ९५ लाख १८ हजार २९०, वित्तीय व्यवस्थापन तर्फ ५ करोड ३३ लाख ३४ हजार र युआरएलआईपी सञ्चालन तर्फ ५२ करोड ३३ लाख १७ हजार रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए ।
उनले यसका अतिरिक्त विनियोजन बजेटमा अन्य अनुदान शीर्षक अन्तर्गत सामाजिक सुरक्षा भत्तालगायतमा बजेट सिलिङ्ग प्राप्त नभएकोले थप शीर्षकमा विनियोजित भई आउने रकम सोही अनुसार विनियोजन हुने बताए ।
उल्लेखित खर्च व्यहोर्न कुल राजश्वको अनुमान २ अर्ब २८ करोड २३ लाख ६९ हजार २९० रुपैयाँ पेश गरिएको छ । जसमध्ये आन्तरिक स्रोतबाट ८० करोड ४३ लाख ११ हजार २९०, बाह्य स्रोतबाट १ अर्ब ३९ करोड ४२ लाख ९८ हजार) तथा यूआरएलआईपी सञ्चालनको लागि नगर विकास कोषबाट प्राप्त हुने आन्तरिक ऋण ८ करोड ३७ लाख ६० हजार राजश्व, ऋण तथा अनुदान प्राप्त हुने अनुमान गरिएको छ ।
आन्तरिक स्रोततर्फ आन्तरिक राजश्व २१ करोड, नेपाल सरकार राजश्व बाँडफाँटबाट ३४ करोड ८४ लाख २६ हजार एक सय, प्रदेश सरकार राजश्व बाँडफाँटबाट १ करोड ८८ लाख ८५ हजार १९०, नगर विकास कोष ऋण ८ करोड ३७ लाख ६० हजार र जनसहभागिताबाट २ करोड ७० लाख प्राप्त हुने अनुमान गरिएको छ । यस्तै उपमहानगरपालिकाको सञ्चित कोषमा बैंक मौज्दात २० करोड रहने अनुमान छ ।
बाह्य स्रोततर्फ अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ३९ करोड ४२ लाख ९८ हजार) राजश्व र अनुदान प्राप्त हुने अनुमान गरिएको छ ।
संघीय सरकारको सशर्त अनुदानबाट ६० करोड २९ लाख र नेपाल सरकार समानीकरण अनुदानबाट ३२ करोड ५० लाख, समपूरक अनुदानबाट १ करोड २५ लाख र युआरएलआईपी कार्यक्रम सञ्चालनको लागि ४० करोड १२ लाख २३ हजार गरी जम्मा १ अर्ब ३४ करोड १६ लाख २३ हजार राजश्व तथा अनुदान प्राप्त हुने अनुमान गरिएको छ ।
प्रदेश सरकार सशर्त अनुदानबाट १ करोड ५० लाख, प्रदेश सरकार विशेष अनुदानबाट ७५ लाख, प्रदेश सरकार समपूरक अनुदानबाट ५० लाख र प्रदेश सरकार समानिकरण अनुदानबाट २ करोड ५१ लाख ७५ हजार गरी ५ करोड २६ लाख ७५ हजार राजश्व तथा अनुदान प्राप्त हुने अनुमान छ ।
त्यस्तै, सार्वजनिक स्थानमा फोहरमैला संकलनको लागि डस्टबिन व्यवस्थापन गर्न ३० लाख, लामखुट्टे नियन्त्रणको लागि अध्ययन गर्न २० लाख तथा सोको प्रतिवेदन अनुरुप कार्य गर्न थप २ करोड ५० लाख, नगरपालिकाको आफ्नो सवारी साधन पार्किंगस्थल तथा ग्यारेजको लागि १ करोड ५० लाख, नगर सौन्दर्यीकरण योजना तथा फोहरमैला प्रशोधन केन्द्र निर्माणको लागि २ करोड ५ लाख, रंगभूमि मैदान व्यवस्थापनको लागि सहलगानी अनुरुप २० लाख, रामजानकी अन्तर्राष्ट्रिय रंगशालामा थप निर्माण गर्न २० लाख र घुम्ती शौचालय खरिद गरी सञ्चालन गर्न ३५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
कार्यक्रममा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख मनोजकुमार साहले स्वास्थ्य, शिक्षा, पूर्वाधारको विकासलाई जोड दिनुका साथै सुशासनलाई प्राथमिकतामा राखिएको जानकारी दिए ।
भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाउँदै असारे विकासलाई निरुत्साहित गरिने भन्दै उनले उपमहानगरपालिकाको प्रशासनिक सेवालाई चुस्तदुरुस्त बनाउने बताए ।
परम्परागत विधिलाई परिमार्जित गर्दै उपमहानगरपालिकाको सबै वडालाई अनलाइन प्रविधिसँग जोडिने उनले बताए । उनले जनकपुरधामलाई नेपालको सांस्कृतिक राजधानी घोषणा गर्न नेपाल सरकारसँग पहल गरिने समेत बताए ।
सडकमा खुला रूपमा विचरण गर्ने छाडा चौपायाहरूको उचित व्यवस्थापनका लागि वडा नं. १२ मा पहिलो चरणको गौशाला निर्माण सम्पन्न भएको बताउँदै उनले सोको सञ्चालन २०८० श्रावण १ गतेबाट हुने जानकारी दिए ।
सामूहिक, व्यावसायिक खेतीलाई प्रोत्साहन गर्दै बजार सुनिश्चित गरिनुका साथै सोको लागि सार्वजनिक निजी साझेदारीमा एक वैज्ञानिक तथा व्यवसायिक अत्याधुनिक व्यवसायिक कृषि बजार सञ्चालन गरिनेछ । सार्वजनिक निजी साझेदारीमा जनकपुरधाम उपमहानगरपालिकामा एउटा शीतगृह, कृषि भण्डारण र वितरण केन्द्र स्थापना गरी किसानको उत्पादनलाई बजारीकरण गरिनेछ । “एक टोल एक सामूहिक कृषि उत्पादन, उत्पादन क्षेत्र’’ नीतिमार्फत आत्मनिर्भर स्थानीय अर्थतन्त्रको निर्माण गरिनेछ ।
युवालक्षित सहकारी र सामुदायिक खेती प्रणालीमा प्रोत्साहित खेती गरिनेछ । साना किसानहरूलाई सिँचाइका लागि निःशुल्क वाटरपम्प तथा ट्युबेल वितरणमा नेपाल विद्युत् प्राधिकरणसँग सहकार्य गरिनेछ ।