वीरगञ्ज,
सगरमाथा एकेडेमी स्कुलको प्राङ्गणमा दीपावली तथा छठ पर्वको पावन अवसरमा विद्यार्थीहरूको प्रतिभा, सिर्जनशीलता, कला तथा सांस्कृतिक पहिचान उजागर गर्ने उद्देश्यले भव्य दियो निर्माण तथा रंगोली प्रतियोगिता सम्पन्न भएको छ।
विद्यालयका प्रधानाध्यापक जियालाल गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुरजीदेवी स्कुलका पूर्वप्रधानाध्यापक लालबाबु तिवारी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा कलाकार तथा चित्रकार मुकेश महतोसहित अन्य अतिथिहरूको विशिष्ट उपस्थिति रहेको थियो।
विद्यार्थीहरूको उमेर र कक्षाअनुसार प्रतियोगितालाई दुई विधामा विभाजन गरिएको थियो। कक्षा १ देखि ४ सम्मका विद्यार्थीहरूका लागि आकर्षक तथा सिर्जनात्मक दियो निर्माण प्रतियोगिता आयोजना गरिएको थियो भने कक्षा ५ देखि १० सम्मका विद्यार्थीहरूका लागि विभिन्न रङहरूको संयोजनबाट मनमोहक रंगोली निर्माण प्रतियोगिता सञ्चालन गरिएको थियो।
प्रतियोगितामा सहभागी विद्यार्थीहरूले निकै उत्साह, लगनशीलता र सिर्जनशीलताका साथ आफ्नो कला तथा प्रतिभा प्रस्तुत गरेका थिए। साना विद्यार्थीहरूले तयार पारेका आकर्षक दियो र ठूला कक्षाका विद्यार्थीहरूले बनाएका रंगोलीले विद्यालयको वातावरणलाई दीपावलीमय बनाएको थियो।
यसका साथै विद्यार्थीहरूले छठ पर्वको मौलिक संस्कृति झल्काउने झिझिया नृत्यलगायत विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक नृत्य प्रस्तुत गरेका थिए। सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक, मनोरञ्जनात्मक र उल्लासमय बनाएको थियो।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका विद्यार्थीहरूलाई प्रमुख अतिथि, सभापति तथा विशिष्ट अतिथिहरूले शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरी सम्मान गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लालबाबु तिवारीले विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि यस्ता अतिरिक्त क्रियाकलाप अत्यन्त आवश्यक रहेको बताउनुभयो। विद्यार्थीभित्र लुकेर रहेका प्रतिभाको पहिचान गरी त्यसलाई उचित अवसर प्रदान गर्नु विद्यालयको महत्वपूर्ण दायित्व भएको उहाँको भनाइ थियो।
त्यसैगरी, विद्यालयका प्रधानाध्यापक जियालाल गुप्ताले विद्यार्थीहरूलाई प्रेरणादायी मन्तव्य दिँदै शिक्षा किताबका पानामा मात्र सीमित नहुने बताउनुभयो। उहाँले शिक्षा भनेको जीवनका हरेक क्षेत्रमा आफ्नो प्रतिभा, सिर्जनशीलता, अनुशासन र आत्मविश्वास प्रदर्शन गर्न सक्ने क्षमताको विकास गर्नु रहेको उल्लेख गर्नुभयो।
उहाँले भन्नुभयो, “साना हातले बनाएको एउटा दियो होस् वा ठूला विद्यार्थीले तयार पारेको एउटा रंगोली, हरेक सिर्जनाभित्र एउटा नयाँ सोच र सम्भावना लुकेको हुन्छ।”
जीवनमा सधैँ प्रथम हुनुभन्दा हरेक काममा उत्कृष्ट प्रयास गर्नु महत्वपूर्ण रहेको उल्लेख गर्दै प्रधानाध्यापक गुप्ताले पुरस्कार जित्नु मात्र उपलब्धि नभई प्रतियोगितामा सहभागिता जनाउनु, नयाँ कुरा सिक्नु र आफ्नो प्रतिभा प्रस्तुत गर्नु पनि ठूलो सफलता भएको बताउनुभयो। आजको सानो प्रयास नै भोलिको ठूलो सफलताको आधार बन्न सक्ने उहाँको भनाइ थियो।
कार्यक्रमको सञ्चालन संजीव यादवले गर्नुभएको थियो। कार्यक्रममा शिक्षिकाहरू रिंकु कर्ण, मुना पटेल, अशीम चौधरी, सुनीता साह, शिक्षक शिवकुमारलगायत विद्यालयका अन्य शिक्षक तथा शिक्षिकाहरूको सक्रिय सहभागिता र सहयोग रहेको थियो।
कार्यक्रमले विद्यार्थीहरूमा सिर्जनात्मक सोच, आत्मविश्वास, आपसी सहयोग, सांस्कृतिक चेतना तथा प्रतिस्पर्धात्मक भावनाको विकास गर्न महत्वपूर्ण योगदान पुर्याएको विद्यालयले जनाएको छ। यस्ता गतिविधिले विद्यार्थीहरूको शैक्षिक ज्ञानसँगै व्यावहारिक सीप, कला र व्यक्तित्व विकासमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ।


