वीरगन्ज, १७ कात्तिक । भन्सार राजस्व नतिरी लामो समयदेखि वीरगन्जमा सञ्चालन हुँदै आएका दुई भारतीय नम्बर प्लेटका सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएर वीरगन्ज भन्सार कार्यालयमा बुझाएको छ ।
पर्सा जिल्लाका ग्रामीण तथा सहरी क्षेत्रमा अनधिकृत रूपमा भारतीय नम्बर प्लेटका गाडी सञ्चालन भइरहेको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले सोमबार वीरगन्ज महानगरपालिका–१६, इनर्वागाउँस्थित सडकबाट दुईवटा गाडी बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार प्रहरीले भारतीय नम्बर प्लेटको बोलेरो र मारुती सुजुकी कार बेवारिसे अवस्थामा फेला पारेको थियो ।
बरामद गरिएका दुवै सवारीसाधनको हकदाबी गर्ने व्यक्तिको खोजी गर्दा कोही पनि सम्पर्कमा नआएपछि प्रहरीले करिब २२ लाख रुपैयाँ मूल्यांकन गरेको जनाएको छ ।
प्रहरीले थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि मंगलबार दुवै सवारीसाधन वीरगन्ज भन्सार कार्यालयमा दाखिला गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।


