वीरगन्ज। वीरगन्ज युवा समाजले भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता भएका सवारी चालक मुन्ना अन्सारीको परिवारलाई घरदैलोमै पुगेर राहत सहयोग गरेको छ।
रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको बाढीपछि बेपत्ता अन्सारी वीरगन्ज महानगरपालिका–२७, उदयपुर घुर्मी ९कोहडी० का स्थायी बासिन्दा हुन्। परिवारको मुख्य आयस्रोत रहेका अन्सारी बेपत्ता भएपछि उनकी श्रीमती रूबी खातुन, चार नाबालक सन्तान तथा वृद्ध आमाबुवालाई आर्थिक तथा मानसिक समस्या परेको परिवारले जनाएको छ।
पीडित परिवारको अवस्थाबारे जानकारी पाएपछि वीरगन्ज युवा समाजको टोली उनीहरूको निवासमै पुगेर खाद्यान्न, लत्ताकपडा, सरसफाइका सामग्री तथा ७ हजार ५ सय ५ रुपैयाँ नगद सहयोग गरेको हो।
राहत हस्तान्तरण गर्दै समाजका अध्यक्ष संजीव थापाले विपद्को समयमा वास्तविक पीडितको घरदैलोमै पुगेर सहयोग गर्नुपर्ने बताए। सरकारी तथा अन्य निकायबाट संकलित राहत सामग्री वास्तविक पीडितसम्म पारदर्शी रूपमा पुर्याउनुपर्नेमा उनले जोड दिए।
कार्यक्रम संयोजक मनोज गुप्ताले विपद्को समयमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै अन्य सामाजिक संघसंस्था, दातृ निकाय तथा सहयोगी व्यक्तिलाई प्रभावित परिवारको सहयोगमा अघि आउन आग्रह गरे।
वीरगन्ज युवा समाजले एक साताको अवधिमा गरेको यो दोस्रो राहत वितरण कार्यक्रम हो। समाजले आगामी दिनमा पनि वास्तविक पीडित परिवारको पहिचान गरी सहयोग अभियानलाई निरन्तरता दिने जनाएको छ।
राहत हस्तान्तरण कार्यक्रममा पर्सा जिल्ला फुटबल संघका अध्यक्ष रोशन गुप्ता, वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, संस्थाका सचिव विनोद धिमाल, कोषाध्यक्ष सुशील श्रेष्ठ, सल्लाहकार मार्टिन मोक्तानलगायतको उपस्थिति थियो।


