वीरगन्ज — नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएलगत्तै वीरगन्जमा इन्धनको कृत्रिम अभाव सिर्जना गरिएको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय पर्साले पेट्रोल पम्पहरूको छड्के अनुगमन गरेको छ।
नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेलमा ३० रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँ मूल्य घटाएको थियो।
मूल्य घटेपछि वीरगन्जका अधिकांश निजी पेट्रोल पम्पले बुधबार बिहानैदेखि पेट्रोल र डिजेल सकिएको भन्दै बिक्री बन्द गरेका थिए। त्यसपछि प्रमुख जिल्ला अधिकारी भोला दाहाल प्रहरी टोलीसहित पम्पहरूको अनुगमनमा निस्किएका हुन्।
प्रमुख जिल्ला अधिकारी दाहालका अनुसार वीरगन्जका १२ वटा पेट्रोल पम्पको अनुगमन गर्दा मनोज आयल र दुर्गा आयल स्टोर्समा मात्र पेट्रोल र डिजेल बिक्री भइरहेको भेटिएको थियो।
बाँकी १० वटा पम्प सञ्चालकले नेपाल आयल निगमको डिपोबाट मागअनुसार समयमै इन्धन प्राप्त नभएको र मौज्दात सकिएकाले बिक्री रोक्नुपरेको जवाफ दिएका थिए।
प्रमुख जिल्ला अधिकारी दाहालले पम्प सञ्चालकलाई मौज्दात व्यवस्थापन प्रभावकारी बनाउन र इन्धन अभावका कारण उपभोक्ताले सास्ती नपाउने गरी सेवा सञ्चालन गर्न निर्देशन दिइएको बताए। उनले आयल निगमबाट नियमित आपूर्ति भइरहेक अवस्थामा उपभोक्तालाई असर पर्ने गरी बिक्री बन्द नगर्न पनि सचेत गराइएको जानकारी दिए।



