वीरगन्ज — वीरगन्ज समाज सेवाले नारायणी अस्पतालमा सञ्चालन गर्दै आएको साप्ताहिक निःशुल्क भोजन कार्यक्रमको २४ औं महिनाको चौथो तथा अन्तिम कार्यक्रम शनिबार सभ्य र भव्य रूपमा सम्पन्न भएको छ।
पछिल्लो दुई वर्षदेखि प्रत्येक शनिबार बिहान ९:३० बजेदेखि नारायणी अस्पताल परिसरमा सञ्चालन हुँदै आएको यस कार्यक्रममार्फत अस्पतालमा उपचाररत बिरामी, कुरुवा, असहाय व्यक्तिहरूका साथै रिक्सा तथा ई–रिक्सा चालक र यात्रुहरूलाई घरमा बनाएको जस्तै सफा, शुद्ध र पोषिलो भोजन प्रदान गरिएको थियो।
कार्यक्रमका अवसरमा वीरगन्ज समाज सेवाका अध्यक्ष अशोक गुप्ताले “सेवा नै धर्म हो” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै विगत दुई वर्षदेखि निरन्तर रूपमा प्रत्येक शनिबार करिब ४५० देखि ५०० जनासम्मलाई भोजन सेवा प्रदान गर्दै आएको बताए।
उनले दिनदुःखी र असहायहरूको सेवा गर्न पाउँदा आत्मसन्तुष्टि र गर्वको अनुभूति हुने उल्लेख गर्दै सबैलाई आ–आफ्नो स्थानबाट यस्ता मानवीय कार्यमा हातेमालो गर्न आग्रह गरे। साथै, अभियानमा सहयोग गर्ने सम्पूर्ण दाता, शुभेच्छुक, सल्लाहकार तथा सदस्यहरूलाई धन्यवाद व्यक्त गरेका छन्।
त्यसैगरी, बरनवाल सेवा समिति पर्साका उपाध्यक्ष तथा समाजसेवी राजेश बरनवालले नारायणी अस्पतालमा अधिकांश विपन्न र असहाय बिरामीहरूको उपचार हुने भएकाले यहाँ निःशुल्क रूपमा घरजस्तै भोजन सेवा प्रदान गर्नु अत्यन्त सराहनीय कार्य भएको बताए। उनले यस्ता सामाजिक अभियानमा सबैले सहभागी भई मानवता बलियो बनाउनुपर्नेमा जोड दिए।
शनिबारको भोजनमा स्वयंसेवकहरूले शुद्ध शाकाहारी परिकारहरू—भात, दाल, आलु–कोभीको मिश्रित तरकारी, हरियो भुटेको खुर्सानीको अचार र काक्रो—वृद्ध, महिला तथा बालबालिकालाई सम्मानपूर्वक सेवा गरेका थिए।
वीरगन्ज समाज सेवाका अध्यक्ष अशोक गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बरनवाल सेवा समितिका उपाध्यक्ष राजेश बरनवाल, वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, तथा समाजसेवीहरू बिरेन्द्र आर्य, निशान्त लाठ, देवव्रत आर्य, मुकेश अग्रवाल, अरमान अली, बजरंग अग्रवाल र सुरज श्रीवास्तवलगायतले सक्रिय रूपमा सहभागिता जनाएका थिए।



