प्रणय साह
वीरगञ्ज । नेपाल राष्ट्र बैंक वीरगञ्ज शाखाको आयोजनामा ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ।
“स्मार्ट मनीको कुरा गरौं, खुला रूपमा छलफल गरौं र वित्तीय ज्ञानसँगै अघि बढौं” भन्ने नारासहित आयोजना गरिएको कार्यक्रममा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्य राखिएको थियो।
प्रभातफेरी वीरगञ्जस्थित नेपाल राष्ट्र बैंकको शाखाबाट सुरु भई मकालु चौक हुँदै विभिन्न मुख्य मार्गको परिक्रमा गर्दै घण्टाघरमा पुगेर समापन गरिएको थियो। कार्यक्रममा विभिन्न विकास बैंक, फाइनान्स कम्पनी तथा वाणिज्य बैंकका कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
सहभागीहरूले ब्यानर तथा प्लेकार्डसहित वित्तीय ज्ञानको महत्वबारे जनचेतना फैलाएका थिए। बचत गर्ने बानीको विकास, सुरक्षित लगानी, डिजिटल बैंकिङको प्रयोग तथा जिम्मेवार वित्तीय व्यवहार अपनाउन सर्वसाधारणलाई प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाइएको छ।
नेपाल राष्ट्र बैंक वीरगञ्ज शाखाका प्रमुख सुशील पौडेल को नेतृत्वमा सम्पन्न कार्यक्रमले वित्तीय साक्षरता विस्तारमा सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ। साथै, यस्ता गतिविधिले समुदायमा आर्थिक चेतना अभिवृद्धि गर्दै दीगो आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।



