वीरगञ्ज । मानवसेवा आश्रम वीरगञ्जले मानसिक अवस्था कमजोर एक पुरुषको उद्धार गरेको छ। मंगलबार पर्साको ठोरी गाउँपालिका वडा नम्बर–५ स्थित सुवर्णपुर चोकबाट अन्दाजी ३० वर्षका एक पुरुषलाई उद्धार गरिएको आश्रमले जनाएको छ।
आश्रमका मधेस प्रदेश संयोजक देवेश गुप्ताका अनुसार दिउँसो करिब २:३० बजे नाम, थर र ठेगाना स्पष्ट बताउन नसक्ने अवस्थामा रहेका ती पुरुष सडकमा अलपत्र अवस्थामा फेला परेका थिए। सूचना प्राप्त भएपछि मानवसेवा आश्रमको टोलीले तत्काल उद्धार गरी आश्रममा ल्याएको उनले बताए।
उद्धार कार्यमा मधेस प्रदेश संयोजक गुप्तासहित आश्रमकी संयोजक मुना मगर, सामाजिक अभियन्ता प्रकाश थारु, ठोरी गाउँपालिका–५ का वडा अध्यक्ष अस्ट बहादुर लोप्चन तथा प्रहरी चौकी सुवर्णपुरका प्रहरी वरिष्ठ हवलदार विवेक राउत कुर्मीको उपस्थिति रहेको थियो।
आश्रममा ल्याएपछि उद्धार गरिएका ती पुरुषलाई सरसफाइ तथा नुहाइधुवाइ गराई आवश्यक हेरचाह गरिएको छ।
हाल उनको स्वास्थ्य अवस्था डाक्टर भरत गोईको निगरानीमा औषधि उपचारमार्फत व्यवस्थापन गरिने मानवसेवा आश्रमले जनाएको छ।
मानवसेवा आश्रमले सडक तथा सार्वजनिक स्थलमा अलपत्र परेका असहाय, बेवारिसे तथा मानसिक समस्या भएका व्यक्तिहरूको उद्धार गर्दै उनीहरूलाई सुरक्षित आवास, उपचार र सम्मानजनक जीवन प्रदान गर्ने उद्देश्यले निरन्तर सेवा दिँदै आएको छ ।



