वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नम्बर २ का पूर्व वडाध्यक्ष शेख अब्बास नेकपा एमालेमा प्रवेश गरेका छन्। २०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम नेपाल (हालको जसपा नेपाल) बाट वडाध्यक्षमा निर्वाचित भएका अब्बासले आइतबार जसपा नेपाल परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका हुन्।
वीरगन्ज–२ अन्तर्गत छपकैयामा आइतबार बिहान आयोजित पार्टी प्रवेश कार्यक्रममा पर्सा निर्वाचन क्षेत्र नम्बर–२ का नेकपा एमालेका उम्मेदवार तथा पूर्वमन्त्री प्रदीप यादवले अब्बाससहितका नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गरे।
कार्यक्रममा बोल्दै एमाले उम्मेदवार यादवले आफू जनताको हरेक दुःखसुखमा सधैं साथमा रहँदै आएको दाबी गरे। उनले चुनावको समयमा मात्र भोट माग्न आउने नेताहरूप्रति कटाक्ष गर्दै भने,
“अहिले चुनाव आयो भनेर रूप फेरेर अनेक नेताहरू जनताकोमा आइरहेका छन्। तर जब खानेपानीको संकट थियो, हैजाको महामारी फैलिएको थियो, त्यतिबेला उनीहरू कहाँ थिए ? त्यस बेला त यही प्रदीप यादव जनताको बीचमा उभिएको थियो। अब कसलाई जिताउने भन्ने निर्णय जनताकै हातमा छ।”
यादवले देश जलाउने कि देश जोगाउने शक्तिलाई भोट दिने भन्ने प्रश्न आज जनतामाझ रहेको उल्लेख गर्दै देश बनाउने, जनताको सेवामा खटिने व्यक्तिलाई नै जनप्रतिनिधि बनाउनुपर्नेमा जोड दिए।
कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य निर्मला देवकोटा, जिल्ला सचिव महेस दास, क्षेत्रीय संयोजक मानदेव हजरा, नेता सुन्दर कुर्मी लगायतका नेता–कार्यकर्ताहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।
पूर्व वडाध्यक्ष शेख अब्बासको एमाले प्रवेशलाई वीरगन्ज–२ मा एमालेको संगठन विस्तार र चुनावी अभियानका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। यस घटनाले पर्सा–२ मा एमालेको पक्षमा राजनीतिक माहोल थप सशक्त बन्दै गएको संकेत दिएको नेताहरूको भनाइ छ।
© 2024



