वीरगञ्ज ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा क्षेत्र नं.–१ का प्रतिनिधिसभा उम्मेदवार हरि पन्तले पिपरा, लालपर्सा, भेडिहाइ र सोलखपुर क्षेत्रमा मतदाताहरूसँग व्यापक भेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।
भेटघाटका क्रममा स्थानीय मतदाताहरूले उम्मेदवार पन्तलाई टीका, माला तथा खादा लगाएर भव्य स्वागत गरेका थिए। कार्यक्रमस्थलमा उपस्थित मतदाताहरूले देशको वर्तमान राजनीतिक अवस्थाबाट निराशा बढिरहेको अवस्थामा अबको आशाको केन्द्र राष्ट्रिय स्वतन्त्र पार्टी नै भएको धारणा व्यक्त गरे।
स्थानीय बासिन्दाहरूले यसपटकको निर्वाचनमा कुनै पनि हालतमा पर्सा–१ बाट रास्वपालाई विजयी गराएर संसद् पठाउने प्रतिबद्धता जनाएका छन्। “पुराना दलहरूले पटक–पटक अवसर पाए पनि जनताको जीवनस्तर परिवर्तन हुन सकेन,” भन्दै उनीहरूले वैकल्पिक राजनीतिक शक्तिको रूपमा रास्वपाप्रति भरोसा बढेको बताए।
घरदैलो अभियानका क्रममा उम्मेदवार पन्तसँग स्थानीय नागरिकहरूले खानेपानी, शिक्षा, स्वास्थ्य, रोजगारी, सडक तथा प्रशासनिक झन्झटका विषयमा आफ्ना समस्या र गुनासाहरू राखेका थिए। ती गुनासाहरू ध्यानपूर्वक सुन्दै पन्तले संसद्मा पुगेपछि जनजीविकासँग जोडिएका विषयलाई प्राथमिकतामा राखेर आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे।
“राजनीति सेवा हो भन्ने मान्यताबाट नै म उम्मेदवारी लिएर जनतामाझ आएको हुँ,” पन्तले भने, “यहाँका हरेक समस्या मेरो साझा जिम्मेवारी हो, समाधानका लागि निरन्तर संघर्ष गर्नेछु।”
घरदैलो तथा भेटघाट कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता–कार्यकर्ता, स्थानीय युवा, महिला तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा देखिएको उत्साह र जनसमर्थनले पर्सा–१ मा रास्वपाको पकड बलियो बन्दै गएको संकेत गरेको छ।



