पर्सा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हरि पन्तले प्रर्सौनी बिर्ता क्षेत्रका मतदाताहरूसँग प्रत्यक्ष भेटघाट गरेका छन्।
आज वीरगञ्ज महानगरपालिका वडा नम्बर–२३ मा आयोजित घरदैलो कार्यक्रमका क्रममा पन्तले स्थानीय नागरिकहरूसँग संवाद गर्दै जनसमर्थन सुदृढ पारेका हुन्।
घरदैलो कार्यक्रमको सुरुवात स्थानीय हनुमान मन्दिरमा पूजा–अर्चना गरेर गरिएको थियो। त्यसपछि उम्मेदवार पन्तसहित रास्वपा नेता–कार्यकर्ताहरू वडा भित्रका विभिन्न टोलहरूमा पुगेर घर–घरमा मतदातासँग भेटघाट गरेका थिए।
घरदैलो अभियानका क्रममा उम्मेदवार हरि पन्तले स्थानीय नागरिकहरूसँग प्रत्यक्ष संवाद गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीको नीति, उद्देश्य तथा सुशासन, पारदर्शिता र जवाफदेहितामूलक राजनीतिक प्रतिबद्धताबारे जानकारी गराए। उनले जनताको प्रत्यक्ष सहभागितामार्फत राजनीति सुधार गर्ने र संसदमा जनआवाजलाई प्रभावकारी रूपमा उठाउने प्रतिवद्धता व्यक्त गरे।
स्थानीय मतदाताहरूले घरदैलोका क्रममा आ–आफ्ना समस्या, गुनासा तथा अपेक्षाहरू उम्मेदवार पन्तसमक्ष राखेका थिए। पन्तले ती विषयलाई नीति निर्माण तहसम्म पुर्याउने आश्वासन दिएका थिए।
घरदैलो कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका स्थानीय नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।



