पर्सा । नेपाल दलित संघ पर्साले प्रतिनिधिसभा क्षेत्र नम्बर–१ बाट नेपाली कांग्रेसका उम्मेदवार अनिल रुङटालाई विजयी गराउन व्यापक चुनावी अभियान सुरु गरेको छ। दलित समुदायको हक–अधिकार, राजनीतिक सहभागिता तथा सशक्तिकरणका लागि निरन्तर सक्रिय रहँदै आएको दलित संघले रुङटाको उम्मेदवारीलाई पूर्ण समर्थन जनाउँदै घरदैलो तथा भेला कार्यक्रमलाई तीव्र बनाएको हो।
दलित समुदायबीच आयोजित विभिन्न कार्यक्रममार्फत संघले कांग्रेस उम्मेदवार रुङटाको पक्षमा जनसमर्थन सुदृढ पार्ने अभियान अघि बढाएको जनाएको छ। संघका अनुसार दलित समुदायका मुद्दालाई नीति निर्माण तहसम्म पुर्याउन सक्ने सक्षम उम्मेदवारका रूपमा रुङटाको उम्मेदवारीलाई लिइएको छ।
कार्यक्रममा बोल्दै उम्मेदवार अनिल रुङटाले दलित समुदायका समस्या, गुनासा र अपेक्षाहरू आफ्नो पहिलो प्राथमिकतामा रहने स्पष्ट पारे। उनले विगतमा पनि दलित समुदायलाई विशेष प्राथमिकतामा राखी काम गरेको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा दलितको हक, अधिकार र अवसर सुनिश्चित गर्न आफू प्रतिबद्ध रहेको बताए।
“दलित समुदायको शिक्षा, रोजगारी, सामाजिक न्याय र समावेशी विकास मेरा प्रमुख एजेन्डा हुन्। यी विषयमा म कहिल्यै पछि हट्ने छैन,” उम्मेदवार रुङटाले भने। उनले दलित समुदायलाई राज्यका हरेक संरचनामा सम्मानजनक सहभागिता गराउने लक्ष्यसहित आफू चुनावी मैदानमा उत्रिएको स्पष्ट पारे।
नेपाल दलित संघ पर्साका अध्यक्ष बुनेल रामको अध्यक्षतामा आज सम्पन्न बैठकमा नेपाली कांग्रेस पर्साका पूर्व सभापति अजय कुमार द्विवेदी प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।
कार्यक्रममा अतिथिहरू अरबिन्द गुप्ता, लक्ष्मण हजरा, कृष्ण राम, शर्मा सरभंग, किरण सरकारलगायतले दलित समुदायको राजनीतिक सहभागिता अझ मजबुत बनाउनुपर्नेमा जोड दिए। उनीहरूले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार रुङटाको पक्षमा एकताबद्ध भएर लाग्न दलित समुदायलाई आह्वान गरे।
वक्ताहरूले लोकतन्त्र सुदृढीकरणमा दलित समुदायको निर्णायक भूमिका रहेको उल्लेख गर्दै यस निर्वाचनमा सचेत, संगठित र सक्रिय सहभागितामार्फत परिवर्तनको पक्षमा मतदान गर्न आग्रह गरे।
कार्यक्रमको सहजीकरण शेष हजराले गरेका थिए।



