पर्सा । पर्सा जिल्लाको नगवामा नेकपा एमालेका उम्मेदवारप्रति चर्को असन्तुष्टि जनाउँदै स्थानीय युवाहरू नेपाली कांग्रेस पर्सा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार अनिल रुङटाको समर्थनमा खुलेर उभिएका छन्। लामो समयदेखि विकासमा उपेक्षा भएको गुनासो गर्दै युवाहरूले यसपटक परिवर्तनको विकल्पका रूपमा कांग्रेस उम्मेदवार रुङटालाई साथ दिने निर्णय गरेका हुन्।
केही दिनअघि नगवामा एमालेका उम्मेदवार प्रदीप यादवलाई प्रवेश गर्न नदिँदै स्थानीय युवाहरूले विरोध जनाएका थिए। पटक–पटक निर्वाचन जितेर संसद् पुगे पनि यादवले नगवामा कुनै ठोस र देखिने विकास गर्न नसकेको उनीहरूको आरोप छ।
युवाहरूका अनुसार पोखरी निर्माण, वर्षायाममा हुने जलडुबानको समस्या समाधान, आधारभूत पूर्वाधार विकास जस्ता विषयमा यादव पूर्ण रूपमा असफल रहे। “विकासभन्दा बढी स्टन्टबाजीमा सीमित नेतृत्व अब स्वीकार्य छैन,” उनीहरूको गुनासो थियो।
सोही असन्तुष्टिको पृष्ठभूमिमा आयोजित नेपाली कांग्रेसका उम्मेदवार अनिल रुङटाको चुनावी कार्यक्रममा नगवाका युवाहरूले खुलेर आफ्ना समस्या, अपेक्षा र गुनासा राखेका थिए। युवाहरूको भनाइ सुन्दै उम्मेदवार रुङटाले नगवाको विकास स्थानीयवासीको सहभागिता, पारदर्शिता र सहकार्यमा गर्ने स्पष्ट प्रतिबद्धता जनाए।
रुङटाले विगतका जनप्रतिनिधिहरूले गर्न नसकेको काम गरेर देखाउने दाबी गर्दै भने, “म धेरै भाषण गर्ने नेता होइन, काम गरेर देखाउने मान्छे हुँ। नगवाको विकासमा तपाईंहरू नै मेरो सबैभन्दा ठूलो शक्ति हुनुहुन्छ।” उनले नगवाको जलडुबान समस्या, आधारभूत पूर्वाधार, शिक्षा र रोजगारीलाई प्राथमिकतामा राखेर योजनाबद्ध रूपमा काम गर्ने बताए।
कार्यक्रमका अध्यक्ष तथा वीरगन्ज महानगरपालिका वडा नं. १६ का बुथ सभापति बाबुनन्द चौरसियाले स्थानीय तहदेखि केन्द्रसम्म नेपाली कांग्रेसलाई बलियो बनाउनु आजको आवश्यकता भएको उल्लेख गरे। उनले कांग्रेसको नीति, सिद्धान्त र उम्मेदवार रुङटाको एजेन्डा घर–घरमा पुर्याउन कार्यकर्तालाई आह्वान गर्दै यस निर्वाचनलाई परिवर्तनको अवसरका रूपमा लिनुपर्ने धारणा व्यक्त गरे।
कार्यक्रममा नेपाली कांग्रेस पर्साका सभापति रामनारायण कुर्मी, सचिव इम्तियाज आलम, पूर्व नगर सभापति विजय सर्राफ, भोला कलवार, प्रकाश, क्षेत्र नं. १ का क्षेत्रीय सभापति अरबिन्द गुप्ता, सचिव अनिल सिंह, हरि यादव, किरण सरकार, मनोजा चौधरी, नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ पर्साकी किरण शर्मा, तरुण दल, दलित संघलगायत विभिन्न भ्रातृ तथा शुभेच्छुक संघ–संस्थाका नेता तथा कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो।



