पर्सा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले पर्सा जिल्लाको पिपरामा निर्वाचन परिचालन कमिटी गठन गर्दै चुनावी अभियानलाई थप सशक्त बनाएको छ। प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै पिपरामा घरदैलो कार्यक्रम सुरु गर्नुअघि कृष्ण पटेलको नेतृत्वमा ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको हो।
पार्टीका नेताहरूका अनुसार निर्वाचन परिचालन कमिटी गठनसँगै पिपरामा रास्वपाको संगठन थप मजबुत बनेको छ। कमिटीले घरदैलो, मतदाता समन्वय, प्रचार–प्रसार र चुनावी व्यवस्थापनलाई प्रभावकारी बनाउने लक्ष्य लिएको बताइएको छ। स्थानीयस्तरमा संगठित संरचना तयार भएपछि पिपरामा रास्वपाप्रति जनआकर्षण बढ्दै गएको नेताहरूको दाबी छ।
यसैबीच, वीरगन्ज महानगरपालिका वडा नं. २३ सबैठवामा रोशन यादव र रवि यादवको नेतृत्वमा सयौँ जेन्जी युवाहरू राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्। युवाहरूको सामूहिक पार्टी प्रवेशलाई पर्सा राजनीतिमा महत्त्वपूर्ण घटनाका रूपमा हेरिएको छ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै रास्वपा पर्सा सभापति एवं पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा उम्मेदवार हरि पन्तले भदौ २३ र २४ मा भएको जेन्जी विद्रोहकै कारण आज देश परिवर्तनको संघारमा पुगेको दाबी गरे। उनले पुरानो राजनीतिक शैली, भ्रष्टाचार र असफल नेतृत्वविरुद्ध उठेको जेन्जी आन्दोलनले नयाँ राजनीतिक शक्तिको आवश्यकता स्पष्ट गरेको बताए।
“अब देशलाई परिवर्तनको सही दिशामा लैजाने नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीले गर्नेछ,” पन्तले भने, “जेन्जी युवाहरूको निरन्तर पार्टी प्रवेशले पर्सामा रास्वपाको जित सुनिश्चित हुँदै गएको छ।”
उनले युवाहरू नै परिवर्तनको मुख्य शक्ति भएको उल्लेख गर्दै राजनीति भाषण र आश्वासनमा सीमित नराखी परिणाम देखिने काममा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गरे। पन्तका अनुसार शिक्षा, रोजगारी, सुशासन र जवाफदेही राजनीतिका सवालमा रास्वपा स्पष्ट एजेन्डाका साथ अघि बढिरहेको छ।
कार्यक्रममा रास्वपा पर्सा जिल्ला सचिव सुदिश प्रजापति, वीरगन्ज महानगर सभापति अमन आलम, सचिव गौतम श्रेष्ठ, क्षेत्रीय सभापति राम आर्यलगायत पार्टीका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। सहभागी नेताहरूले पिपरा र सबैठवामा देखिएको जनसमर्थनले रास्वपाको अभियानलाई थप ऊर्जा दिएको बताएका छन्।
स्थानीयवासीका अनुसार पिपरामा निर्वाचन परिचालन कमिटी गठन र सबैठवामा जेन्जी युवाहरूको ठूलो संख्यामा पार्टी प्रवेशले पर्सा जिल्लामा रास्वपाको संगठन विस्तार र चुनावी माहोललाई नयाँ गति दिएको छ। घण्टी चुनाव चिह्न बोकेको रास्वपा पर्सामा परिवर्तनको वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित हुँदै गएको स्थानीयहरूको प्रतिक्रिया छ।



