१७औँ स्थापना दिवसको अवसरमा जारी सन्देशमा साउथ जोन माध्यमिक विद्यालयका प्रधानाध्यापक चौधरीले विद्यालयको यात्रा समर्पण, निरन्तर प्रयास र सामूहिक सफलताको परिणाम भएको उल्लेख गर्नुभएको छ। उहाँका अनुसार विद्यालयको मूल लक्ष्य गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै विद्यार्थीमा मूल्य, अनुशासन र सिर्जनशीलताको विकास गर्नु हो।
प्रधानाध्यापक चौधरीले पछिल्ला वर्षहरूमा विद्यालयले शैक्षिक गतिविधिसँगै खेलकुद, व्यक्तित्व विकास र सिर्जनात्मक क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको जानकारी दिनुभयो। फुटबल, क्रिकेटलगायत विभिन्न खेलकुद प्रतियोगितामा विद्यार्थीहरूको सक्रिय सहभागिता र सफलता देखिन थालेको छ। त्यसैगरी चित्रकला, हस्तकला, सांस्कृतिक कार्यक्रम, वक्तृत्वकला तथा वादविवाद प्रतियोगितामा पनि विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गर्दै विद्यालयको नाम उजागर गरेका छन्।
उहाँले विद्यालयको यस प्रगतिमा अभिभावक, शिक्षक तथा कर्मचारीहरूको निरन्तर सहयोग महत्वपूर्ण रहेको उल्लेख गर्दै सामूहिक प्रयासकै कारण विद्यालय समग्र विकासको केन्द्र बन्दै गएको बताउनुभयो।
“शिक्षासँगै खेलकुद, कला र संस्कृतिमा विद्यार्थीलाई सक्षम बनाउनु नै आजको आवश्यकता हो,” प्रधानाध्यापक चौधरीले सन्देशमार्फत भन्नुभएको छ।
विद्यालय परिवारले आगामी दिनमा पनि नविन सोच, आधुनिक शिक्षण पद्धति तथा अतिरिक्त क्रियाकलापलाई अझ सशक्त बनाउँदै उत्तरदायी, आत्मविश्वासी र सक्षम नागरिक उत्पादन गर्ने लक्ष्य लिएको जनाएको छ।
© 2024



