वीरगन्ज— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुशील कुमार कानुले आइतबार बिहान वीरगन्ज महानगरपालिका–२८ बगहीमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्। स्थानीय तहबाट जनताका समस्या बुझ्दै चुनावी अभियानलाई तीव्र बनाउने उद्देश्यका साथ उनले घरदैलो कार्यक्रम सञ्चालन गरेका हुन्।
घरदैलोका क्रममा उम्मेदवार कानुले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट तथा संवाद गर्दै उनीहरूको दैनिकीसँग जोडिएका समस्या, आवश्यकता, अपेक्षा र विकासप्रतिको चाहनाबारे जानकारी लिएका थिए। उनले जनताले उठाएका विषयहरूलाई नीतिगत रूपमा सम्बोधन गर्ने र जनताको आवाजलाई संसद्सम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरे।
स्थानीयवासीहरूले सडकको दयनीय अवस्था, सुरक्षित खानेपानीको अभाव, रोजगारीका अवसर नहुनु, शिक्षा र स्वास्थ्य सेवामा पहुँचको कमी तथा सार्वजनिक सेवा प्रवाहमा देखिएको बेथितिबारे गुनासा राखेका थिए। उनीहरूले विकासका योजना कागजमा सीमित नभई व्यवहारमा देखिनुपर्नेमा जोड दिएका थिए।
उम्मेदवार कानुले निर्वाचित भएपछि पर्सा क्षेत्रका दीर्घकालीन समस्यालाई प्राथमिकताका साथ संसद्मा उठाउने र सम्बन्धित निकायसँग समन्वय गरी समाधानका लागि निरन्तर पहल गर्ने प्रतिबद्धता जनाए। उनले विकासका नाममा हुने अनियमितता र राजनीतिक स्वार्थविरुद्ध आफू दृढतापूर्वक उभिने बताए।
कार्यक्रमका क्रममा कानुले स्वच्छ राजनीति, जवाफदेही नेतृत्व र पारदर्शी शासन प्रणालीमार्फत मात्र पर्साको समग्र विकास सम्भव हुने उल्लेख गरे। “जनताको विश्वास नै मेरो सबैभन्दा ठूलो शक्ति हो,” उनले भने, “जनताको चाहनाअनुसार काम गर्ने, जनताप्रति उत्तरदायी र इमानदार प्रतिनिधि बन्ने मेरो लक्ष्य हो।”
उनले विगतमा भएका विकास प्रयासहरू अपेक्षित परिणाम दिन नसकेको उल्लेख गर्दै नयाँ सोच, नयाँ कार्यशैली र नागरिकको प्रत्यक्ष सहभागिताबाट मात्र परिवर्तन सम्भव हुने धारणा राखे। रास्वपाले पुरानो राजनीतिक संस्कृतिभन्दा फरक ढङ्गले राजनीति गर्ने प्रयास गरिरहेको उनको भनाइ थियो।
घरदैलो कार्यक्रममा रास्वपाका स्थानीय नेता–कार्यकर्ता, समर्थक तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले उम्मेदवार कानुको सरलता, स्पष्ट विचार र जनतासँग नजिक रहेर काम गर्ने शैलीप्रति सकारात्मक प्रतिक्रिया दिएका थिए।



