वीरगन्ज । वीरगन्जको सिर्सिया नदी झण्डै तीन दशकदेखि औद्योगिक प्रदूषणको चपेटामा पर्दै आएको भन्दै स्थानीय युवाहरूले दबाबमूलक अभियान सुरु गरेका छन्। जेन–जी पुस्ताका करिब ३० युवाले शनिबार नदीको प्रदूषित पानी २० बोत्तलमा भरेर जिल्ला प्रशासन कार्यालय र वीरगन्ज महानगरपालिकामा बुझाएका छन्।
पर्सा–बारा औद्योगिक करिडोरका उद्योगहरूले रसायनयुक्त फोहोर पानी सिधै नदीमा मिसाउँदा सिर्सिया गम्भीर रूपमा प्रदूषित भएको युवाहरूको आरोप छ। अभियानका अगुवा किसु सर्राफका अनुसार आगामी दिनमा उद्योग वाणिज्य संघ, स्थानीय तह र पूर्व सांसद–मन्त्रीहरूको कार्यालयसम्म पनि फोहोर पानीका बोत्तल पुर्याइनेछ।
युवाहरूले कविता वाचन, महाआरतीजस्ता कार्यक्रममार्फत पनि नदी संरक्षणको सन्देश दिने तयारी गरेका छन्। सिर्सिया नदीको प्रदूषणका कारण बारा र पर्साका दर्जनौँ गाउँ प्रभावित हुँदै आएका छन्।



