बारा । करैयामाई गाउँपालिका–१ हरैयामा एक चिनियाँ नागरिकले नेपाली नाबालिकासँग विवाह गर्न लागेको सूचनापछि प्रहरीले बुधबार मध्यराति बेहुला, बेहुली र बेहुलीका बाबुलाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएका चिनियाँ नागरिकसँग वैध पासपोर्ट तथा भिसा रहेका छन्। तर, उनले विवाह गर्न लागेकी युवती १८ वर्षकी मात्र भएकाले कानुनी प्रक्रिया विपरित विवाह गर्ने प्रयास भएको देखिएको प्रहरीले जनाएको छ। वर्तमान कानुन अनुसार विवाहको लागि पुरुष २२ वर्ष र महिला २० वर्ष पुग्नु अनिवार्य छ।
हरैया आसपासका मुस्लिम बस्तीमा पछिल्ला वर्षहरूमा चिनियाँ नागरिकसँग विवाह भइरहेका घटनाहरू दोहोरिन थालेपछि प्रहरीले निगरानी बढाएको थियो। स्थानीयहरूले पनि गत एक वर्षमै त्यसै क्षेत्रमा चिनियाँ नागरिकसँग तीन वटा विवाह भइसकेको जानकारी दिएका छन्।
वडाध्यक्ष सोनालाल साहले चिनियाँ नागरिक बालिकाको घरमै विवाह गर्ने उद्देश्यले आएका कुरा पुष्टि गर्दै, उमेर नपुगेको अवस्थामा विवाह रोक्न प्रहरीले समयमै हस्तक्षेप गरेको बताए।



