पोखरिया –
पोखरिया नगरपालिकाले आर्थिक पारदर्शिता र उत्तरदायित्वलाई सुदृढ बनाउने उद्देश्यसहित आर्थिक वर्ष २०८१र८२ को सम्पत्ति विवरण समयमै बुझाउन सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीहरूलाई आग्रह गरेको छ।
नगरपालिकाले हालै सार्वजनिक सूचना जारी गर्दै भदौ १ गतेसम्म, अर्थात् श्रावण मसान्तभित्र, सम्पत्ति विवरण बुझाउन अनुरोध गरेको हो। यो सूचना पोखरिया नगरपालिकाभित्र कार्यरत सबै जनप्रतिनिधिहरू, स्थायी, करार तथा स्थानीय सेवाका कर्मचारीहरू, साथै राहत, अस्थायी शिक्षक तथा विद्यालय कर्मचारीहरूलाई लक्षित गरिएको छ।
भ्रष्टाचार निवारण ऐन, २०५९, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८, र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ का प्रावधानअनुसार सार्वजनिक पदमा रहेका व्यक्तिहरूले आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र सम्पत्ति विवरण अनिवार्य रूपमा बुझाउनुपर्ने व्यवस्था छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम विनय कुमार सिंहद्वारा हस्ताक्षरित सूचनामा तोकिएको म्यादभित्र विवरण नबुझाएमा प्रचलित कानुनबमोजिम जरिवाना लाग्न सक्ने उल्लेख गरिएको छ। सूचनामा सबैलाई कानुनी उत्तरदायित्वप्रति सचेत रहन आग्रह गर्दै, पारदर्शी प्रशासन र जिम्मेवार स्थानीय सरकार निर्माणमा सबैको सक्रिय भूमिका अपेक्षा गरिएको छ।
सम्पत्ति विवरण बुझाउने प्रक्रिया सहज बनाउन सम्बन्धित शाखाले आवश्यक सहयोग र जानकारी प्रदान गरिरहेको जनाइएको छ।



