पर्सा — पर्सा जिल्ला अदालत परिसरमै प्रहरीमाथि हातपात गर्न खोजेको आरोपमा पर्सागढी नगरपालिका वडा नं। ६ का वडाध्यक्ष नवलकिशोर साह कलवार पक्राउ परेका छन्।
बुधवार अदालत परिसरमा प्रवेश गर्ने क्रममा सुरक्षार्थ खटिएका प्रहरीसँग अनावश्यक वादविवाद गर्दै हात हाल्ने प्रयास गरेपछि कलवारलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता, प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिएका छन्।
उनका अनुसार अदालत प्रवेशमा चेकजाँचका क्रममा वडाध्यक्षले असहयोगपूर्ण व्यवहार गर्दै प्रहरीमाथि हातपात गर्न खोजेपछि घटनास्थलमै नियन्त्रणमा लिइएको हो।
हाल वडाध्यक्ष कलवारलाई वडा प्रहरी कार्यालय श्रीपुरमा राखी सोधपुछ तथा अनुसन्धान भइरहेको लम्सालले बताएका छन्।
घटनाले अदालतको मर्यादा र सुरक्षा व्यवस्थाप्रति गम्भीर प्रश्न उठाएको भन्दै प्रहरी प्रशासनले थप अनुसन्धान अघि बढाएको जनाएको छ।



