काठमाडौँ — नेपालबाट निर्यात हुने सिमेन्ट, जुत्ता, जस्तापाता, प्लाइउड, सेनिटरी प्याडलगायत वस्तु निर्यातमा भारतले अनौपचारिक अवरोध गरेपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले दूध तथा दुग्धपदार्थ आयात खुलाउन ‘लबिइङ’ थालेको छ ।
निर्यात व्यापार प्रभावित भएको भन्दै उद्योग मन्त्रालयले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई आयात खोल्न आग्रह गर्दै आएको छ । कृषि मन्त्रालय भने दुग्धपदार्थको आयात नखोल्ने अडानमा छ । दुग्धपदार्थको आयात खोल्दा किसान र डेरी उद्योग मर्कामा पर्ने जनाउँदै कृषि तत्कालन नखोल्ने पक्षमा देखिन्छ ।
दुग्धपदार्थ आयातमा सरकारले रोक लगाएपछि भारतले अनौपचारिक रूपमा असन्तुष्टि जनाउँदै आएको छ । सोहीअनुसार निर्यातलाई आवश्यक ब्युरो अफ इन्डियन स्ट्यान्डडर्स ९बीआईएस० वितरण गरेको छैन । भारतले करिब ४ महिनादेखि नयाँ र नवीकरणका लागि बीआईएस वितरण नगर्दा निर्यात प्रभावित भएको छ । त्यसलाई दृष्टिगत गर्दै उद्योग मन्त्रालयले दूध तथा दुग्धपदार्थको आयात खोल्न कृषिलाई आग्रह गरेको हो ।
‘द्विपक्षीय व्यापार सन्धि, विश्व व्यापार संगठन ९डब्लूटीओ० को सदस्य भएको नाताले सबैको हित र सन्तुलन हुने गरी नेपालमा उत्पादन नहुने दुग्धपदार्थ आयात खुला गर्न कृषिसँग छलफल भएको छ,’ उद्योग मन्त्रालयका प्रवक्ता बाबुराम अधिकारीले भने, ‘आयात खुला नहुँदा चोरी–निकासी हुन्छ, यसले राजस्व मात्रै गुमेको छ । तसर्थ आयात खोल्ने विषयमा पुनर्विचार गर्न हामीले आग्रह गरेका छौं ।’
विशेषगरी नेपालमा उत्पादन नहुने दुग्धपदार्थ आयात खुला गर्न छलफल भएको अधिकारीले बताए । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको भारत भ्रमणका क्रममा भारतीय उद्योगमन्त्री पीयूष गोयलले समेत यस विषयमा चासो राखेका थिए ।
दुग्ध विकास संस्थान ९डीडीसी० र डेरी उद्योगमा अर्बौं रुपैयाँको धूलो दूध र बटर मौज्दात रहेपछि कृषि मन्त्रालयले ०८० फागुनमा आयात स्थगन गर्ने निर्णय गरेको थियो । फागुन ३ मा खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागलाई पत्र पठाएर अर्को निर्णय नभएसम्म आयात परमिट जारी नगर्न भनेको थियो । मन्त्रालयको निर्णयसँगै आयात परमिट बन्द भएको विभागले जनाएको छ । हाल चिल्लो हटाइएको दूध ९स्किम्ड मिल्क०, चिनी वा अन्य गुलियो पदार्थ नहालिएको, नौनी ९बटर० र घिउको पैठारीमा पूर्ण रोक लगाएको छ । छुर्पी, प्रशोधित, भुजुरी वा धूलो नपारेको चिज, भुजुरी पारेको वा धूलो पारेका सबै प्रकारका चिजलगायत पैठारीमा पूर्ण रोक लागेको छ ।
भारत मात्रै नभई चीन, स्पेन, डेनमार्क, फ्रान्स, जर्मन, इटालीलगायत मुलुकबाट पनि दुग्धपदार्थ आयात हुन्छ । सबैभन्दा ठूलो बजार भने भारत हो । तत्कालीन कृषिमन्त्री बेदुराम भुसालले दुग्धपदार्थ आयात रोक्ने निर्णय गरेका थिए । उक्त निर्णयले किसान र डेरी उद्योगीले केही राहत पाएका थिए । पछिल्लो समय भने फेरि आयात खोल्न भारतले दबाब दिएको हो ।
औपचारिक रूपमा केही नभने पनि बीआईएस रोकेर भारतले दबाब दिइरहेको छ । भारतको दबाब थेग्न नसकेपछि पछिल्लो समय उद्योग मन्त्रालयले कृषिलाई आग्रह गर्दै आएको हो । ‘केही साताअघि मन्त्रिपरिषद् बैठक बस्ने क्रममा उद्योगमन्त्री दामोदर भण्डारीले कृषिमन्त्री रामनाथ अधिकारीलाई आयात खोल्न आग्रह गरेका थिए । तर कृषिमन्त्री अधिकारीले आयात खोले कृषकको हितविपरीत हुने भन्दै नखोल्न अडान राखे,’ कृषि मन्त्रालय स्रोतले भन्यो, ‘त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीसम्मै यो कुरा पुग्यो । तर कृषिको अडानले आयात अहिलेसम्म रोकिएको छ ।’
आयात खोल्ने सन्दर्भमा उद्योगमन्त्री भण्डारीले प्रधानमन्त्रीलाई समेत आग्रह गरेका थिए । त्यसपछि कृषिमन्त्री अधिकारीले कांग्रेस नेता शेखर कोइराला, सभापति शेरबहादुर देउवालाई भेटेर आयात खुला गर्न नहुने माग गरेको ती अधिकारीले जनाए । ‘उद्योगबाट प्रस्ताव आएपछि दुग्धपदार्थको आयात खोल्ने पक्षमा कृषि मन्त्रालय छैन ।
तत्काल खोल्नु पनि हुँदैन,’ कृषिका ती अधिकारीले भने । कृषिमन्त्रीसँगै किसान, डेरी उद्योगी र केन्द्रीय दुग्ध सहकारी संघ अधिकारीहरूले पनि कांग्रेसका महामन्त्री गगन थापा र सभापति देउवालाई भेटेर तत्काल दुग्धपदार्थ आयात खोल्न नहुने माग गरेका थिए ।
देउवाले तत्काल प्रधानमन्त्री ओलीलाई टेलिफोन गरेर आयात खोल्न नहुने बताएको एक डेरी उद्योगी बताउँछन् । ‘देउवाले किसान र स्वदेशी डेरीको हितका लागि दुग्धपदार्थ आयात खोल्न नहुने बताएका थिए,’ उनले भने, ‘अहिले डेरीहरूसँग बटर र धूलो दूध मौज्दात रहेको अवस्थामा आयात खुला भए किसान र डेरी उद्योगका लागि नराम्रो हुन्छ । उद्योग धराशायी बन्छ ।’
कृषि मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले पनि आन्तरिक उत्पादन र मौज्दात रहेको अवस्थामा तत्काल आयात खुला गर्न नहुने जनाए । ‘अहिले कृषिको पहिलो प्राथमिकता मौज्दात रहेको दुग्धपदार्थ खपत गराउनेमै छ । आयात खोल्ने विषयमा उद्योग र अर्थ मन्त्रालयमा एकरदुई पटक छलफल भएको छ । तर प्रक्रिया अगाडि बढेको छैन,’ उनले भने, ‘कृषि मन्त्रालय आन्तरिक खपत बढाउने र मौज्दात घटाउनेमा केन्द्रित छ ।’
पछिल्लो समय भारतले आयातित सेनेटरी प्याड र बेबी डाइपर निर्यातमा भने केही खुकुलो गरेको छ । बीआईएस अनिवार्य गर्ने व्यवस्थालाई थप दुई महिना पछाडि सारेको छ । भारतले दुई महिनापछाडि सारेसँगै नेपाली उद्योगीहरूले आगामी दुई महिनासम्म बीआईएस नलिई भारतमा सेनेटरी प्याड र बेबी डाइपर निर्यात गर्न सक्नेछन् । ‘केही वस्तुमा खुकुलो गरेको सुनेका छौं, तर आधिकारिक रूपमा केही आएको छैन,’ उद्योगका प्रवक्ता अधिकारीले भने, ‘यस विषयमा थप बुझ्ने प्रयास जारी छ । भारतस्थित नेपाली दूतावासलाई पनि जानकारी लिन अनुरोध गरेका छौं ।’सभार कान्तिपुरबाट राजु चौधरीले लेखनुभएको छ ।



