बारा । अर्थमन्त्री डा. रामशरण महतले देशको अर्थतन्त्र बिस्तारै लयमा फर्किरहेको बताउनुभएको छ ।
३३ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा बाराको जीतपुरमा निर्माण भएको सञ्जीवनी वाटिकाको वृद्धाश्रम भवन समुद्घाटन तथा सम्मान कार्यक्रममा मन्त्री महतले कोरोना महामारी र बाह्य क्षेत्रको समस्याका कारण अर्थतन्त्रमा देखिएको समस्या बिस्तारै समाधान हुँदै गएको उल्लेख गर्नुभयो ।
अर्थमन्त्री डा. महतले बैङ्कहरूले ब्याजदर घटाएको, रेमिट्यान्स वृद्धि भएको र पर्यटक आगमन बढेको बताउनुभयो ।
अर्थतन्त्रमा सुधार देखिएसँगै लगानी गर्ने वातावरण निर्माण भएको उहाँको भनाइ छ । सरकारमाथि आन्तरिक र बाह्य ऋणको सावा ब्याज तिर्ने दायित्व बढेको पनि उहाँले बताउनुभयो ।

नेपालमा हाइड्रोपावर र पर्यटनको सम्भावना धेरै रहेको र त्यही क्षेत्रलाई आर्थिक उन्नतिसँग जोड्न पूर्वाधार विकासमा जोड दिनुपर्ने मन्त्री महतले बताउनुभयो ।
अर्थमन्त्री डा. महतले सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई उच्च प्राथमिकता दिएर बनाउनुपर्ने बताउनुभयो । उहाँले लुम्बिनी र पोखरा एयरपोर्ट भन्दा पहिला निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्नेमा प्राथमिकता यकिन गर्न नसक्दा काम सम्पन्न हुन नसकेको बताउनुभयो ।
वृद्धाश्रममा सय जना वृद्धवृद्धा अटाउने क्षमता रहेको वृद्धाश्रमका अध्यक्ष फर्मुल्लाह मन्सुरले जानकारी दिनुभयो ।
© 2024



