परवानीपुर — बाढीमा परी बेपत्ता भएका व्यक्तिको आधिकारिक विवरण संकलन तथा यकिन गर्न परवानीपुर गाउँपालिकाले सम्बन्धित परिवारलाई निवेदन पेस गर्न आग्रह गरेको छ।
गाउँपालिकाको कार्यालयले जारी गरेको सूचनाअनुसार रसुवा तथा भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता भएका व्यक्तिको विवरण संकलन र प्रमाणीकरण प्रक्रिया अघि बढाइएको हो। त्यसका लागि सम्बन्धित बेपत्ता व्यक्तिका परिवारका सदस्यलाई आवश्यक कागजातसहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिन भनिएको छ।
गाउँपालिकाले २०८३ असार २७ गतेको पत्र तथा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको निर्णयअनुसार ‘रसुवा भोटेकोशी बाढीमा बेपत्ता व्यक्तिको आधिकारिक विवरण यकिन गर्ने प्रक्रिया, २०८३’ बमोजिम सूचना जारी गरेको जनाएको छ।
सूचनामा बेपत्ता व्यक्तिका एकाघर परिवारका सदस्यले सूचना प्रकाशित भएको मितिले पाँच दिनभित्र बेपत्ता व्यक्तिको नामथर, ठेगाना, उमेर, सँगै बाढीमा परेका अन्य व्यक्तिको विवरण, निजसँगको नाता प्रमाणित हुने कागजात तथा बाढीमा बेपत्ता भएको व्यहोरा खुल्ने स्वघोषणासहित सम्बन्धित वडा कार्यालयमा निवेदन पेस गर्नुपर्ने उल्लेख छ।
बेपत्ता व्यक्तिका एकाघर परिवारका सदस्य नभएको अवस्थामा सम्बन्धित वडाध्यक्षले वडा सचिव र स्थानीय प्रहरीको रोहबरमा बाढीमा बेपत्ता भएको यकिन गरी सर्जमिन मुचुल्कासहित वडा कार्यालयमा निवेदन पेस गर्न सकिने व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण नन्दन रायले जारी गरेको सूचनामा सम्बन्धित सबैलाई तोकिएको प्रक्रियाअनुसार विवरण उपलब्ध गराउन अनुरोध गरिएको छ।


