वीरगञ्ज,। नेपाल प्रहरीको ७१औँ प्रहरी दिवसको अवसरमा दसैँ पर्वलाई लक्षित गरी पर्साको बिन्दवासिनी मन्दिर परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।
नेपाल प्रहरी र एलाइड युथ सोसाइटीको आयोजनामा तथा सशस्त्र प्रहरी बल नेपाल, १३ नम्बर गणको सहकार्यमा सरसफाइ कार्यक्रम सञ्चालन गरिएको हो।
दसैँका अवसरमा बिन्दवासिनी मन्दिरमा दर्शन तथा पूजापाठ गर्न आउने श्रद्धालु भक्तजनको चाप बढ्ने भएकाले मन्दिर परिसरलाई सफा, स्वच्छ र व्यवस्थित बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
एलाइड युथ सोसाइटीका संस्थापक अध्यक्ष ओमकुमार झाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरीया प्रहरीका प्रहरी निरीक्षक भानुभक्त अर्यालको विशेष उपस्थिति थियो। कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, १३ नम्बर गण तथा एलाइड युथ सोसाइटीमा आबद्ध व्यक्तिहरू सहभागी भएका थिए।
सरसफाइ अभियानअन्तर्गत मन्दिर परिसरमा सफाइका गतिविधि सञ्चालन गरिएको थियो। चाडपर्वका बेला धार्मिक स्थलमा बढ्ने भीडभाडलाई ध्यानमा राख्दै सरसफाइ र स्वच्छता कायम राख्नुपर्ने सन्देशसमेत दिइएको आयोजकले जनाएको छ।
प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रमले प्रहरी र समुदायबीचको सहकार्यलाई थप सुदृढ बनाउनुका साथै धार्मिक तथा सार्वजनिक स्थलको संरक्षण र सामाजिक उत्तरदायित्व अभिवृद्धिमा जोड दिएको छ।
चाडपर्वका समयमा धार्मिक स्थल तथा सार्वजनिक स्थानलाई स्वच्छ र व्यवस्थित राख्न सम्बन्धित निकायसँगै नागरिकको पनि महत्त्वपूर्ण भूमिका रहने सन्देश कार्यक्रमले दिएको छ।


