वीरगञ्ज। पर्साको ठोरी गाउँपालिकामा प्रहरी र नागरिकबीचको सम्बन्ध सुदृढ बनाउने उद्देश्यले नागरिक सुनुवाइ तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साको आयोजनामा शुक्रबार बिहान ठोरी गाउँपालिका–२ स्थित स्केटिङ भवनमा आयोजित कार्यक्रममा करिब १५० जनाको सहभागिता रहेको प्रहरीले जनाएको छ।
२०८३ असोज २३ गते बिहान करिब ९ः४० बजे सुरु भएको कार्यक्रममा ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष गोकुली कुमारी रेग्मी, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक पवनकुमार भट्टराई, जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णजंग थापा तथा ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानको उपस्थिति थियो।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न विद्यालयका शिक्षक, शिक्षिका तथा विद्यार्थी, स्थानीय बुद्धिजीवी, भद्रभलादमी र विभिन्न संघसंस्थाका प्रतिनिधिहरू सहभागी थिए।
नागरिक सुनुवाइका क्रममा प्रहरी र स्थानीय नागरिकबीच प्रत्यक्ष संवाद तथा छलफल गर्ने अवसर प्रदान गरिएको थियो। नागरिकका गुनासा, सुझाव र विचार सुन्नुका साथै प्रहरी सेवासम्बन्धी विषयमा अन्तरक्रिया गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
प्रहरी र नागरिकबीच आपसी विश्वास, सहकार्य तथा समन्वय अभिवृद्धि गर्दै स्थानीयस्तरमा शान्ति सुरक्षा कायम गर्न यस्ता कार्यक्रम महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ।
नागरिकका समस्या र सुझावलाई सम्बोधन गर्ने तथा प्रहरी सेवालाई थप उत्तरदायी र प्रभावकारी बनाउने उद्देश्यले आयोजित कार्यक्रमले समुदाय र प्रहरीबीचको सम्बन्ध सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।


