वीरगञ्ज — को–अपरेटिभ म्यानेजर्स क्लब ९सीएमसी० पर्साको आठौँ वार्षिक साधारणसभा तथा विजया दशमी, दीपावली र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।
२०८३ असोज २३ गते गृहलक्ष्मी साकोसको सभाहलमा आयोजित कार्यक्रम क्लबका अध्यक्ष चन्द्रेश्वर प्रसाद चौरसियाको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष जिश्नु बराल प्रमुख अतिथि तथा पदेन अध्यक्ष रवि भूषण श्रीवास्तव विशेष अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रममा क्लबका वार्षिक गतिविधि तथा प्रगतिको समीक्षा गर्नुका साथै सहकारी क्षेत्रको व्यवस्थापकीय क्षमता, पारदर्शिता र सुशासन अभिवृद्धिका विषयमा छलफल गरिएको थियो। सहभागीहरूले सहकारी संस्थालाई व्यवस्थित, जिम्मेवार र प्रभावकारी बनाउन व्यवस्थापकहरूबीच एकता, सहकार्य र व्यावसायिक दक्षता आवश्यक रहेकोमा जोड दिएका थिए।
क्लबले अघि सारेको ‘व्यवस्थापकहरूको क्षमता, सहकारी संस्थामा एकरूपता’ भन्ने नाराअनुरूप सहकारी क्षेत्रका समसामयिक चुनौती, संस्थागत विकास तथा आगामी कार्ययोजनाबारे समेत विचार आदानप्रदान गरिएको थियो।
सहकारी व्यवस्थापकहरूबीच आपसी समन्वय र अनुभव आदानप्रदानलाई प्रभावकारी बनाउँदै सहकारी क्षेत्रको समग्र विकासमा योगदान पुर्याउने प्रतिबद्धता पनि कार्यक्रममा व्यक्त गरिएको थियो।
कार्यक्रममा क्लबका उपाध्यक्ष रामबाबु चौधरीले स्वागत मन्तव्य राखेका थिए भने महासचिव प्रदीपकुमार लोहारले कार्यक्रम सञ्चालन गरेका थिए। सचिव दीपेन्द्र श्रेष्ठ, कोषाध्यक्ष किरण ठाकुर, सदस्यहरू दीपिका श्रेष्ठ, चन्द्रशेखर प्रसाद र डीके जैसवाललगायतको उपस्थिति थियो।
त्यसैगरी शिक्षा उपसमितिका सदस्य इन्दु रञ्जितकार, उमेश शाह तुरहा, क्लबका सल्लाहकार तथा प्लस वन टेलिभिजनका सञ्चालक एवं पत्रकार आशिक अन्सारी र पत्रकार उज्ज्वल शर्मालगायत सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा विजया दशमी, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदानसमेत गरिएको थियो। क्लबले संस्थालाई थप सक्रिय, सशक्त र परिणाममुखी बनाउँदै सहकारी क्षेत्रको व्यवस्थापन सुधारमा निरन्तर योगदान पुर्याउने जनाएको छ।
क्लबले कार्यक्रम सफल बनाउन सहयोग गर्ने अतिथि, पदाधिकारी, सदस्य, सल्लाहकार तथा सञ्चारकर्मीप्रति आभार व्यक्त गरेको छ।


