पर्सा — विद्यार्थी दुर्घटना तथा स्वास्थ्य बिमा सुविधाअन्तर्गत एक विद्यार्थीका अभिभावकलाई उपचार खर्चबापतको रकम हस्तान्तरण गरिएको छ।
विद्यालयमा अध्ययनरत प्रत्येक विद्यार्थीको १ लाख रुपैयाँ बराबरको दुर्घटना बिमा र ३ हजार ५ सय रुपैयाँ बराबरको स्वास्थ्य बिमा गरिएको विद्यालयले जनाएको छ।
यसैक्रममा कक्षा ६ मा अध्ययनरत हंशु कुमार गुप्ता घरमा लडेर खुट्टामा चोट लागेपछि उपचार गराएका थिए। उपचारका क्रममा भएको खर्चमध्ये २ हजार ५ सय १८ रुपैयाँ नेको इन्स्योरेन्स कम्पनीबाट प्राप्त भएपछि उक्त रकम बराबरको चेक उनका अभिभावक हरेन्द्र कुमार साहलाई हस्तान्तरण गरिएको हो।
यसअघि कक्षा २ का छात्र आदित्य कुमार यादवको हात भाँचिएर उपचार गराउँदा लागेको खर्चबापत ४ हजार रुपैयाँ बिमा कम्पनीबाट प्राप्त भएको थियो। अभिभावकले पेस गरेको उपचारसम्बन्धी बिलका आधारमा प्राप्त उक्त रकम यसअघि नै हस्तान्तरण गरिसकिएको विद्यालयले जनाएको छ।
विद्यालयका अनुसार विद्यार्थीको सुरक्षा तथा स्वास्थ्यलाई ध्यानमा राखेर प्रदान गरिएको बिमा सुविधाले दुर्घटना तथा स्वास्थ्यसम्बन्धी समस्याका बेला विद्यार्थी र अभिभावकलाई आर्थिक राहत पुर्याउनेछ।


