वीरगन्ज — वीरगन्ज महानगरपालिकाले नगरवासीलाई मालपोत कर तिर्न सहज हुने गरी सम्बन्धित वडा कार्यालयबाटै कर संकलन गर्ने व्यवस्था लागू गरेको छ।
महानगरपालिकाले जारी गरेको सूचनाअनुसार आगामी असोज १२ गतेदेखि महानगरका सबै वडा कार्यालयबाट अनिवार्य रूपमा मालपोत कर संकलन गरिनेछ। यससँगै मालपोत कर बुझाउन महानगरपालिकाको केन्द्रीय कार्यालय धाउनुपर्ने बाध्यता हट्ने भएको छ।
महानगरपालिकाले नगरवासीलाई घरदैलो नजिकैबाट सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउने नीतिअनुसार वडा कार्यालयबाटै मालपोत कर संकलनको व्यवस्था गरेको जनाएको छ।
महानगर प्रमुख राजेशमान सिंहले नगरवासीलाई सेवा लिन अनावश्यक झन्झट नहोस् र आफ्नै वडा कार्यालयबाट सहज रूपमा सेवा लिन सकून् भन्ने उद्देश्यले वडा तहबाटै मालपोत कर संकलनको व्यवस्था गरिएको बताए।
उनका अनुसार महानगरपालिकाबाट प्रवाह हुने सेवाहरू सकेसम्म नगरवासीको घरदैलो नजिक पुर्याउने तथा सेवा लिन लाग्ने समय र खर्च बचत गराउनेतर्फ महानगरपालिका अघि बढिरहेको छ।
अब नगरवासीले सम्बन्धित वडा कार्यालयमै पुगेर मालपोत कर बुझाउन सक्नेछन्। कर संकलनका लागि आवश्यक व्यवस्था मिलाउन महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्तबहादुर बोहराले सबै वडा कार्यालयलाई निर्देशन दिएका छन्।
प्रमुख प्रशासकीय अधिकृत बोहराले जारी गरेको सूचनामार्फत नगरवासीलाई सम्बन्धित वडा कार्यालयबाटै मालपोत कर बुझाउन आग्रहसमेत गरिएको छ।


