वीरगन्ज — हरितालिका तीजको अवसरमा वीरगन्जस्थित बिर्ता कारागारमा रहेका महिला बन्दीलाई खाद्यान्न तथा व्यक्तिगत सरसफाइसम्बन्धी सामग्री वितरण गरिएको छ। लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ एसअन्तर्गत वीरगन्जमा आयोजित कार्यक्रममा महिला बन्दीको आवश्यकता लक्षित गरी खाद्यान्न, स्वास्थ्य तथा सरसफाइ सामग्री उपलब्ध गराइएको हो।
कार्यक्रममा वीरगन्ज महानगरपालिका–४ का वडाध्यक्ष जगतप्रसाद कानु प्रमुख अतिथिका रूपमा सहभागी थिए। उनले चाडपर्वको अवसरमा कारागारमा रहेका महिलालाई लक्षित गरी गरिएको सहयोगले सामाजिक उत्तरदायित्व र मानवीय सेवाको सकारात्मक सन्देश दिएको बताए।
लायन्स क्लब अफ वीरगन्ज मिलेनियम एमजेएफका अध्यक्ष वीरेन्द्र साह र लायन्स क्लब अफ वीरगन्ज सेन्ट्रलकी अध्यक्ष मिनाक्षी गुप्ताको संयुक्त अध्यक्षतामा कार्यक्रम भएको हो।
कार्यक्रममा महिलाहरूको आवश्यकतालाई ध्यानमा राख्दै खाद्यान्नसँगै व्यक्तिगत सरसफाइ तथा स्वच्छतासम्बन्धी सामग्री वितरण गरिएको आयोजकले जनाएको छ। कारागारमा रहेका महिलालाई दैनिक जीवनमा आवश्यक सामग्री उपलब्ध गराउँदा उनीहरूलाई प्रत्यक्ष सहयोग पुग्ने आयोजकको भनाइ छ।
कार्यक्रममा लायन रोशन गुप्ता, लायन डीएन अग्रवाल, सुशील चाचान, बिनोद खण्डेवाल, वीरगन्ज कारागारका सुरक्षा प्रमुख प्रदीप जैसवाल, गजेन्द्र राउत तथा जेलर प्रमुख सुनिल चौरसियालगायतको उपस्थिति थियो।
कार्यक्रमका संयोजक सुमन श्रेष्ठ, केएम अन्सारीलगायत लायन्स क्लबका पदाधिकारी तथा सदस्यको पनि सहभागिता थियो। सहभागीहरूले चाडपर्वलाई केवल उत्सवमा सीमित नगरी सामाजिक सेवा र मानवीय सहयोगसँग जोड्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रमका लागि आवश्यक सम्पूर्ण खर्च लायन लालबहादुर थिङकी छोरी तथा अस्ट्रेलियामा बस्दै आएकी इनु थिङले व्यहोरेकी थिइन्। कार्यक्रमको सञ्चालन लालबहादुर थिङले गरेका थिए।


