वीरगञ्ज — राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ लाई समयानुकूल परिमार्जन गर्ने उद्देश्यले मधेश प्रदेशबाट सुझाव तथा पृष्ठपोषण संकलन सुरु गरिएको छ।
नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्र, सानोठिमी, भक्तपुरको आयोजनामा वीरगञ्जस्थित वीरगञ्ज पब्लिक कलेज ९बीपीसी०को सभाहलमा मधेश प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रम आयोजना गरिएको हो।
भदौ २२ देखि ३० गतेसम्म देशका विभिन्न स्थानमा राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सुझाव तथा पृष्ठपोषण संकलन भइरहेको छ। सोही क्रममा मधेश प्रदेशस्तरीय कार्यक्रम वीरगञ्जमा गरिएको हो।
कार्यक्रमको सहजीकरण प्याब्सन पर्साका अध्यक्ष सरोजप्रसाद चौधरीले गरेका थिए। उनले बदलिँदो शैक्षिक आवश्यकता, प्रविधिको विकास, विद्यार्थीको सिकाइ शैली र व्यवहारिक शिक्षालाई सम्बोधन हुने गरी राष्ट्रिय पाठ्यक्रमलाई समयानुकूल परिमार्जन गर्नुपर्ने बताए।
कार्यक्रममा शिक्षाविद् सुशील भट्टराई, राजेन्द्र कोइराला, प्रकाश उपाध्याय, डा। अरविन्द श्रेष्ठ, डा। बासु कर्ण, विश्वास प्रताप, डा। हरिशंकर प्रसाद साह, रञ्जिव आनन्द, विनोद मेहता, राजकुमार सिंह, राजेन्द्र चौधरी र सुशिला साहलगायत शिक्षक, विद्यार्थी तथा शिक्षा क्षेत्रका सरोकारवालाको सहभागिता थियो।
कार्यक्रममा पाठ्यक्रम विकास केन्द्रकी निर्देशक मैया अधिकारी, अधिकृत जगन्नाथ अधिकारी तथा पाठ्यक्रम परिमार्जन समितिका सदस्य पवित्रबहादुरको विशेष उपस्थिति थियो।
सहभागीहरूले राष्ट्रिय पाठ्यक्रम प्रारूपमा देखिएका व्यवहारिक समस्या, विद्यालय तहको पाठ्यक्रम सुधार, शिक्षण–सिकाइ पद्धति, मूल्यांकन प्रणाली, शिक्षकको भूमिका, प्रविधिमैत्री शिक्षा र विद्यार्थीको सर्वाङ्गीण विकासलगायत विषयमा सुझाव दिएका थिए।
संकलित सुझाव तथा पृष्ठपोषणलाई समेटेर राष्ट्रिय पाठ्यक्रम प्रारूपलाई थप प्रभावकारी, व्यवहारिक र समयसापेक्ष बनाउने उद्देश्य रहेको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ। विद्यालय, शिक्षक, शिक्षाविद् तथा शिक्षा क्षेत्रका अन्य सरोकारवालाबाट प्राप्त सुझावलाई पाठ्यक्रम परिमार्जनका क्रममा महत्वपूर्ण आधारका रूपमा लिइने जनाइएको छ।
सहभागीहरूले बदलिँदो सामाजिक, आर्थिक, प्राविधिक तथा शैक्षिक परिवेशअनुकूल विद्यालय शिक्षाको विकासका लागि यस्ता सुझाव संकलन कार्यक्रम महत्वपूर्ण हुने बताएका छन्।


