वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी गाडी प्रयोग गरी वीरगञ्जस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन्। उनीसँगै इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रदीप पौडेल पनि क्यासिनोबाटै पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित Golden Finger Gaming Zone Pvt. Ltd. (क्यासिनो) मा नेपाली नागरिक प्रवेश गरी जुवा खेलिरहेको सूचनाका आधारमा राति करिब १०ः३० बजे छापा मारेको थियो।
प्रहरीले जुवा खेलिरहेको अवस्थामा जसवन्त यादव, चन्दन सहनी, ओमप्रकाश झा र प्रदीप पौडेललाई नियन्त्रणमा लिएको जनाएको छ।
यस्तै, नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गराई जुवा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा क्यासिनोका कर्मचारी विजयकुमार पटेल, दिनेशकुमार पटेल, जयदेव साह र प्रदेशी साहलाई समेत प्रहरीले पक्राउ गरेको छ।
क्यासिनोमा सरकारी गाडीको प्रयोग ?
सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यादव सरकारी गाडी प्रयोग गरेर क्यासिनो पुगेको विवरणले घटनालाई थप गम्भीर बनाएको छ। स्थानीय तहका जनप्रतिनिधिले सरकारी स्रोत–साधन प्रयोग गरी क्यासिनो पुगेको विषयमा समेत प्रश्न उठेको छ।
त्यसैगरी, इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक नै क्यासिनोबाट पक्राउ पर्नुले प्रहरी संगठनभित्र समेत गम्भीर प्रश्न खडा गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको छ।
© 2024


