परवानीपुर । गर्मी बढेसँगै परवानीपुर गाउँपालिकाका विभिन्न वडा तथा टोलबस्तीमा लामखुट्टेको प्रकोप बढेको छ। विशेषगरी वडा नं। ५ अन्तर्गत बहुअरी र सानो नौतन टोलमा लामखुट्टेको संख्या अत्यधिक बढेपछि स्थानीयवासी त्रसित बनेका छन्।
गर्मी मौसम सुरु भएसँगै लामखुट्टेको प्रकोप बढ्ने गरे पनि यस वर्ष परवानीपुर गाउँपालिकाले समयमै लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किन नसक्दा समस्या थप बढेको स्थानीयवासीको गुनासो छ। लामखुट्टेको टोकाइबाट विभिन्न रोग फैलिन सक्ने जोखिम बढेकाले गाउँपालिकाले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने वडा नं। ५ की स्थानीयवासी मिरा देवीले बताइन्।
स्थानीयवासी राजेश पासवानले लामखुट्टे नियन्त्रणसँगै सरसफाइ व्यवस्थापनका लागि परवानीपुर गाउँपालिकाका पाँचवटै वडाले समन्वय गरेर अभियान सञ्चालन गर्नुपर्ने बताए। बजार क्षेत्रदेखि टोलबस्ती र सार्वजनिक स्थानसम्म नियमित सरसफाइ नहुँदा लामखुट्टे बढ्ने अनुकूल वातावरण बनेको उनको भनाइ छ।
यसअघि गाउँपालिकाले प्रयोग गरेको औषधियुक्त धुवाँले पनि लामखुट्टे नियन्त्रणमा प्रभावकारी परिणाम नदिएको वडा नं। ३ का स्थानीयवासी हरीओम साहले बताए। उनका अनुसार गत वर्ष छर्किएको औषधिको प्रभाव लामखुट्टेमा खासै नदेखिएपछि यस वर्ष प्रभावकारी औषधि छनोट गरी समयमै छर्किन आवश्यक छ।
परवानीपुर बजार क्षेत्र तथा गाउँका विभिन्न टोलमा नाला, फोहोर तथा पानी जम्ने स्थानको नियमित व्यवस्थापन हुन नसक्दा लामखुट्टेको समस्या बढेको स्थानीयवासीको अनुमान छ। उनीहरूले गाउँपालिकासँग नियमित सरसफाइ, पानी जम्ने स्थानको व्यवस्थापन तथा प्रभावकारी औषधि छर्किने कार्य तत्काल सुरु गर्न माग गरेका छन्।
स्थानीयवासीले लामखुट्टे नियन्त्रणलाई मौसमी अभियानका रूपमा मात्र नभई नियमित सरसफाइ र स्वास्थ्य सुरक्षासँग जोडेर दीर्घकालीन रूपमा अघि बढाउनुपर्ने बताएका छन्।


